विपद् भन्नाले कुनै स्थानमा आपतकालीन अवस्था सिर्जना भई जन वा धनको क्षतिको साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पर्ने प्राकृतिक वा गैरप्राकृतिक संकट बुझिन्छ । नेपाल प्राकृतिक विपद्का दृष्टिले बहुजोखिमयुक्त देश हो । नेपालमा वर्षेनि आगलागी, बाढी, पहिरो, चट्याङ, भूकम्प, हावाहुरी, असिना, शीतलहर, हिमपहिरोलगायत एक दर्जनभन्दा बढी प्रकारका प्राकृतिक प्रकोपले विपद् निम्त्याउने गरेको छ । विभिन्न प्रकारका विपद्का कारण नेपालमा वर्षेनि एक हजारभन्दा धेरैको ज्यान जाने गरेको छ भने अरबौंको भौतिक क्षति हुने गरेको छ । हरेक देशमा कुनै न कुनै प्रकारको प्रकोपको जोखिम हुने भए पनि नेपालमा धेरै प्रकारका प्रकोपका कारण विपद् निम्तने गरेको छ । प्राकृतिक प्रकोपका कारण उत्पन्न हुने विपद्को सामना गरेर त्यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सक्नुपर्दछ । यसका लागि विपद्को सही अनुमान र व्यवस्थापन प्रणाली प्रभावकारी बनाउनु आवश्यक छ ।

नेपालमा मनसुन सक्रिय भएर हुने विपद्को जोखिम सबैभन्दा उच्च रहेको छ । नेपालमा अधिकांश हुने विपद् भनेर पहिरो जानु, बाढी आउनु, खडेरी लाग्नु, हिमपहिरो, महामारीलाई मानिन्छ । यी विपद् अधिकांश वर्षाप्रेरित छन् । बाढी र पहिरो नेपालमा सबैभन्दा प्रमुख र बारम्बार दोहोरिने प्रकोप हुन्, जसले प्रायः विपद्हरु निम्त्याउँछ । मनसुनको समयमा हुने अविरल भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने गर्दछ । निरन्तर पानी पर्दा खोला तथा नदीको जलसतह वृद्धि भई बाढी आउँछ । बाढीका कारण तराई क्षेत्रमा खोला नदीको पानी गाउँ, बस्ती र खेतीयोग्य जमिनमा पस्ने तथा आकाशबाट परेको पानी जमेर डुबानका कारण ठूलो जनधनको क्षति हुने गर्दछ । भूकम्पको उच्च जोखिममा रहेको कारण मुलुकमा समयसमयमा विनाशकारी भूकम्पले पनि ठूलो विपद् निम्त्याउने गरेको छ । हावाहुरी, चट्याङ, डढेलो, आगलागीजस्ता घटनाले पनि जनधनको क्षति गर्दै आएको छ । विभिन्न प्रकारका रोगको प्रकोप र महामारीबाट पनि उत्तिकै विपद् निम्तने गरेको छ ।

मकवानपुर जिल्ला पनि विपद्को उच्च जोखिम क्षेत्रमा पर्दछ । विशेषगरी बाढी, पहिरो, चट्याङ, आगलागीजस्ता प्रकोपको उच्च जोखिम यस जिल्लामा रहेको छ । यसैकारण शुक्रबारमात्र विपद् व्यवस्थापन समिति मकवानपुरको बैठकले जिल्लाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ स्वीकृत गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । ढिलै भए पनि समितिले कार्ययोजना कार्यान्वयन गर्ने निर्णय गर्नु सकारात्मक मान्नुपर्छ । यस कार्ययोजनाको प्रभावकारी कार्यान्वयन भएमा विपद् जोखिम र संकटको पहिचान, मापन तथा विश्लेषणमा सहयोग पुग्नेछ । विभिन्न प्रकोपबाट उच्च जोखिमयुक्त स्थानहरुको पहिचान गर्दै विपद्जन्य घटनाको व्यवस्थापनमा सहजता हुनेछ । मानवीय सहायतामा संलग्न निकायको सक्रियता बढाउन र सरोकारवालाहरुबीच प्रभावकारी समन्वय गर्न कार्ययोजनाले सहयोग गर्नेछ । विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरण गर्न सहज हुने विश्वास गर्न सकिन्छ ।

प्राकृतिक र मानवीय क्रियाकलापका कारण प्रकोपका घटना बढ्दै गएको अवस्थामा त्यसले निम्त्याउने विपद् र हुने क्षति न्यूनीकरणमा तीनै तहको सरकारको ध्यान जानुपर्छ । प्रकोपबाट क्षति भएपछि चिन्ता जाहेर गर्नुभन्दा प्रकोपको पूर्वानुमानसँगै पूर्वतयारी र प्रतिकार्यका कार्यलाई प्रभावकारी बनाएर त्यसबाट हुने क्षति न्यूनीकरण गर्न स्पष्ट नीति, योजना र कार्यक्रम ल्याउनु आवश्यक छ । वर्षाको समयमा प्राकृतिक विपद्का घटना र त्यसबाट जनधनको क्षति बढी हुने सबैलाई थाहा हुँदाहुँदै पनि पूर्वसतर्कता, पूर्वतयारी र प्रतिकार्यमा आम नागरिक तथा सरकारी निकायको पर्याप्त ध्यान नपुग्दा समस्या भइरहेको छ । प्रकोपका घटनाबाट विपद्को अवस्था आउनुअघि नै सरोकारवाला निकायले आवश्यक चासो र सतर्कता देखाउनुपर्छ । विपद् व्यवस्थापनका लागि विपद् पूर्वतयारी र प्रतिकार्यजस्ता योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।