म तिम्रो बन्न सकेनछु
सकेनछु तिमीले हिँडाएको गोरेटोमा लम्कन
म ‘म’ बन्न अघि बढिरहेँ
आफूले गरेको सम्झौता बिर्सिएर
बिर्सेछु मैले आफूलाई तिमी बनाउन सङ्कल्प गरेको दिन ।।

प्रिय, म अँध्यारोमै रुमलिएछु
बिर्सेर हाम्रा सपना र गन्तव्यलाई
विस्मृतिमा हराएछन् “वसुधैव कुटुम्बकम्“ मूलमन्त्र
थाँती राखेर हामी भन्ने भाव
म मेरै गन्तव्यमा दौडन पुगेछु
हुन पनि हो
यात्रा लामो थियो, गन्तव्य निकै टाढा
यस्तै यस्तै अरु केही
मैले भुलेछु त्यो दिन र गरेछु हतारमा निर्णय
किनकि,
म ‘म’ बाहेक अरु कोही बन्न सक्दिनँ ।।

हेटौँडा–१८, हर्नामाडी