हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले कक्षा–१२ को परीक्षामा जिल्ला प्रथम भएको खुशिलायीमा शुक्रबार बिहान र्याली निकालेको छ । २०८० सालको कक्षा–१२ को परीक्षामा जिल्ला प्रथम हुन सफल भएकोमा क्याम्पसले शुक्रबार पञ्चेबाजासहित खुशियाली र्याली निकालेको हो ।
कक्षा–१२ को परीक्षामा मकवानपुर क्याम्पसबाट सहभागी भई प्राश्ना दहालले जिल्लामै ३ दशमलव ९२ जीपिए ल्याउँदै उत्कृष्ट हुन सफल भएको हो । क्याम्पस परिसरबाट सुरु भएको खुशियाली र्याली मानसचोक, लोकप्रियचोक, बुद्धचोक हुँदै स्कूलरोड, कान्तिराजपथ, सानोपोखरा र मनकामनाचोकबाट पुनः क्याम्पस परिसरमा पुगेर समापन गरिएको थियो ।
क्याम्पसबाट राम्रो नतीजा ल्याउने विद्यार्थीलाई हौसला प्रदान गर्नका लागि र्यालीको आयोजना गरेको बताइएको छ । शैक्षिक गुणस्तरको सन्दर्भमा मकवानपुर क्याम्पस सधैँ अगाडि बढिरहेको क्याम्पसले जनाएको छ । र्यालीपछि क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलले जिल्ला प्रथम हुन सफल प्राश्ना र प्राश्नाका अभिभावकलाई सम्मान गर्नुभयो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य समेत रहनुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, क्याम्पस प्रमुख डा. यम बहादुर सिलवाल र पूर्वक्याम्पस प्रमुख शंकर प्रसाद उपाध्याय लगायतको उपस्थिति रहेको थियो । कक्षा ११ र १२ सहित स्नातक र स्नात्तकोत्तर तहमा मकवानपुर बहुमुखी क्याम्पसमा ५ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।