हेटौँडाः सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–१, बलुवामा बोलेरो जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही जिल्लाको चक्रघण्टा गाउँपालिका–२ का ३५ वर्षीय गणेश राय रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बिहीबार बिपि राजमार्ग हुँदै काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–२ बस्ने २२ वर्षीय आर्यन भट्टराईले चलाएको प्रदेश २–०२–००१ च ०४८७ नम्बरको पिकअप बोलेरोले सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २–०३–००६ प ३७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक राय र पछाडि सवार ३३ वर्षीय धिरेन्द्र ठाकुर घाइते भएका थिए । घाइते दुबैलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा चालक रायको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।