हेटौँडाः कोभिड–१९ महामारी यता चरम आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाको दवाव, व्यवसायमा शून्यताको अवस्थामा स्थानीय सरकारले राजश्वको दर अस्वभाविकरुपमा वृद्धि गरेपछि व्यवसायीले आन्दोलनको तयारी थालेका छन् । हेटौँडा उपमहानगरपालिकाले राजश्व वृद्धि गरेको विषयमा ध्यानाकर्षण गराउँदा नगरप्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ र प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले कार्यपालिका बैठकबाट सम्बोधन गर्ने आवश्वास दिएका थिए । व्यवसायीलाई दिइएको आश्वास विपरित शुक्रबारको कार्यपालिका बैठकले करको दरसम्बन्धमा कुनै ठोस निर्णय नगरेपछि व्यवसायी आन्दोलनको तयारीमा देखिएका छन् । शुक्रबारको कार्यपालिका बैठकको कार्यसूचिमा कर दरको विषय समावेश गरिए पनि निर्णयमा कुनै सम्बोधन नभएपछि व्यवसायीले शुक्रबार नै आन्दोलनको तयारी थालेका छन् ।
शुक्रबार साँझ मकवानपुर उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघ मकवानपुरका पदाधिकारी, पूर्वअध्यक्षहरु र सल्लाहकारको सहभागितामा आन्दोलनको तयारीका विषयमा छलफल भएको छ । करको दर निर्धारणको प्रक्रियादेखि नै उपमहानगरपालिकाले व्यवसायीलाई बेवास्ता र भ्रममा राखेको भन्दै व्यवसायीले तीव्र आलोचना गरिरहेको सन्दर्भमा उपमहानगरपालिकाले आश्वास दिएर पनि व्यवसायीको माग सम्बोधनतर्फ जिम्मेवार नभएको व्यवसायीले निश्कर्ष निकालेका छन् । चौतर्फी समस्यामा परेका व्यवसायीमाथि हेटौँडा उपमहानगरपालिकाले गैरजिम्मेवारीपूर्ण तरिकाबाट राजश्वको दर वृद्धि गर्ने र व्यवसायीका मागलाई पनि सम्बोधन नगर्नुलाई गम्भीररुपमा लिएर आन्दोलनको तयारी थालिएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले जानकारी दिनुभएको छ ।
“भोलि शनिबार राजनीतिक दल, कानुन व्यवसायी, नागरिक समाजसँग छलफल गरेपछि हामी व्यवसायीले आन्दोलनको खाका तयार पार्ने सहमति आज शुक्रबार साँझ बसेको बैठकले गरेका छौं”, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले भन्नुभयो, “हामी आन्दोलन घोषणा गरेर बीचमै छाड्नुपर्ने अवस्था नरहोस् भनी राजनीतिक दल, कानुन व्यवसायी, नागरिक समाज र सरोकारवालासँग भोलि शनिबार छलफल गरेर आन्दोलनको खाका तय गर्नेछौं ।”
निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव राजेन्द्र प्रसाद चौलागाईले व्यवसायीका मागलाई सम्बोधन गर्ने आश्वास दिएर कार्यपालिका बैठकको कार्यसूचिमा रहेको विषयमा कुनै निर्णय नै नगरिनु गम्भीर विषय भएको उल्लेख गर्नुभयो । शुक्रबारको प्रारम्भिक छलफलले नगरवासी र व्यवसायीलाई कुनै किसिमको राजश्व नतिर्न आव्हान गर्ने, बजार बन्द गर्ने, निर्माणको कार्य रोक्ने, व्यवसाय बन्द गरेर चाबी बुझाउने लगायत आन्दोलनको खाका तय गर्ने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । भोलि शनिबार बिहान निर्माण व्यवसायी संघको बैठक बसेर आन्दोलनको खाकालाई अझ स्पष्ट पार्ने महासचिव चौलागाईले जानकारी दिनुभएको छ ।