फाइल तस्वीर ।

हेटौंडाः माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) २०८० को पूरक (ग्रेडवृद्धि) परीक्षाको दोस्रो दिन ४४ जना विद्यार्थी अनुपस्थित भएका छन् । अनिवार्य नेपाली विषयको परीक्षामा ४४ जना विद्यार्थी अनुपस्थित भएका हुन् ।

अनिवार्य नेपालीको ग्रेडवृद्धि परीक्षाका लागि मकवानपुर जिल्लाबाट ५ सय ७५ जना विद्यार्थीले फारम भरेको थिए । फारम भरेकामध्ये ६ सय ३१ जना विद्यार्थी परीक्षामा उपस्थित भएको परीक्षा फोकल पर्सन सरला अधिकारीले जानकारी दिनुभयो । बुधबार अनिवार्य अंग्रेजी विषयको परीक्षामा ९४ जना विद्यार्थी अनुपस्थित भएका थिए । परीक्षामा एक हजार ५ सय १० जना विद्यार्थी उपस्थित भएका थिए ।

बुधबारदेखि सुरु भएको ग्रेडवृद्धि परीक्षा साधारण धारतर्फ साउन २९ गते सकिनेछ । प्राविधिक धारतर्फको परीक्षा भने साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । जिल्लामा ग्रेडवृद्धि परीक्षाका लागि ८ वटा केन्द्र तोकिएको छ । यस वर्ष विद्यार्थीले परीक्षामा एनजी ल्याएका वा उपस्थित हुन नपाएका सबै विषयमा परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ