हेटौंडाः मकवानपुरमा सम्बन्धविच्छेदको घटना बढिरहेको छ । ३ वर्षको अवधिमा जिल्ला अदालत मकवानपुरले २ हजारभन्दा बढी सम्बन्धविच्छेदको नयाँ मुद्दा दर्ता गरेको छ । जिल्ला अदालतको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/०७८ देखि गत आर्थिक वर्ष २०८०/०८१ सम्म २ हजार ८६ जनाले सम्बन्धविच्छेदको नयाँ मुद्दा दर्ता गराएका छन् ।

आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला अदालतले सम्बन्धविच्छेदको ६ सय ९१ वटा नयाँ मुद्दा दर्ता गरेको थियो । आर्थिक वर्ष २०७९/०८० मा ७ सय ९५ वटा र गत आर्थिक वर्ष २०८०/०८१ मा ६ सय वटा सम्बन्धविच्छेदको नयाँ मुद्दा दर्ता भएको जिल्ला अदालत मकवानपुरका शाखा अधिकृत केशवराज कौशिकले जानकारी दिनुभएको छ ।

यस्तै, ३ वर्षमा ५ सय ५५ वटा मुद्दाको जिम्मेवारी सरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा एक सय ६८ वटा, आर्थिक वर्ष २०७९/०८० मा एक सय ८० वटा र गत आर्थिक वर्ष २०८०÷०८१ मा २ सय ७ वटा मुद्दाको जिम्मेवारी सरेको थियो ।

अदालतमा आर्थिक वर्ष २०७८/०७९ मा सम्बन्धविच्छेदका ८ सय ५९ वटा मुद्दा दर्ता भएको थियो । जसमध्ये ६ सय ७९ वटा मुद्दा फछ्र्यौट भएको थियो भने एक सय ८० वटा मुद्दा बाँकी थियो । आर्थिक वर्ष २०७८/०७९ मा दर्ता भएका ९ सय ७५ वटा मुद्दामध्ये ७ सय ६८ वटा मुद्दा फछ्र्यौट भएको थियो भने २ सय ७ वटा मुद्दा बाँकी रहेको थियो ।

यस्तै, गत आर्थिक वर्ष २०८०/०८१ मा सम्बन्धविच्छेदका ८ सय ७ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये ६ सय २७ वटा मुद्दा फछ्र्यौट भएका थिए भने एक सय ८० वटा मुद्दा चालु आर्थिक वर्ष २०८१/०८२ मा जिम्मेवारी सरेको छ ।

वैदेशिक रोजगारी, महिलामा आएको चेतना, गरिबी सम्बन्धविच्छेदको मुख्य कारण रहेको अदालतका उपसचिव (श्रेस्तेदार) लेखनाथ पौडेलले जनाकारी दिनुभयो । चुनौतीको सामना गर्न नसक्दा, एकअर्काको अविश्वास, लागूऔषध, मदिरा सेवन, बेरोजगारी र शोषण सहन नसक्दा सम्बन्धविच्छेदको अवस्था आउने गरेको उहाँको भनाइ छ ।

नेपालमै रोजगारी सिर्जना र सम्बन्धविच्छेदको चेतना सबैमाझ पु¥याएमा समस्या केहि हदसम्म कम हुनसक्ने पौडेलले बताउनुभयो । उहाँका अनुसार बाहुन–क्षेत्रीमा भन्दा धेरै दलितमा सम्बन्धविच्छेद हुने गरेको छ । पछिल्लो समय शिक्षित वर्गमा पनि सम्बन्धविच्छेदका घटना बढिरहेको छ । पछिल्लो समय पुरुषले पनि सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गर्न पाउने भएपछि मुद्दाको संख्या बढेको उहाँको भनाइ छ ।