स्तनपानसम्बन्धी चेतनामूलक कार्यक्रममा पश्चात सामुहिहक तस्वरि खिचाउँदै ।

हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नर्सिङ्ग विभागले स्तनपानसम्बन्धी चेतनामूलक प्रदर्शनी गरेको छ । प्रतिष्ठानले ३२ औं विश्व स्तनपान सप्ताह २०८१ को अवसरमा बुधबार हेटौंडा अस्पतालमा अवस्थित एमसीएच क्लिनिकमा स्तनपानसम्बन्धी जानकारीमूलक प्रदर्शनी कार्यक्रमको आयोजना गरेको प्रतिष्ठानकी लेक्चरर लक्ष्मी पौडेलले जानकारी दिनुभयो ।

‘स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता’ भन्ने नाराका विभिन्न कार्यक्रम आयोजना गरेर स्तनपान सप्ताह मनाइएको छ । उक्त प्रदर्शनीको अवलोकन गर्दै प्रतिष्ठानकी डिन प्राध्यापक दुर्गाकुमारी खड्का मिश्र र हेटौंडा अस्पतालका निर्देशक प्राध्यापक डा. धीरेन्द्रकुमार गिरीले अहिले मानिसमा चेतनामूलक कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा एमसीएच क्लिनिकमा खोप लगाउन आएका र अस्पतालको सुत्केरी वार्डमा भएका एक सय ५० जना सेवाग्राहीको सहभागिता रहेको थियो । प्रतिष्ठानकी लेक्चरर पौडेलले स्तनपान सप्ताहको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रमहरु गर्दै आएको र अन्य समयमा पनि स्तनपानको महत्वको बारेमा अस्पतालबाट जनसमुदायमा चेतना फैलाउने काम नर्सिङ विभागले गर्दै आएको उल्लेख गर्नुभयो ।

स्तनपानलाई प्रोत्साहन र प्रवद्र्धन गर्न हरेक वर्ष विभिन्न नारासहित स्तनपान सप्ताह मनाउने गरिएको छ । यस वर्ष साउन १७ गतेदेखि २३ गतेसम्म स्तनपान सप्ताह मनाइएको छ । प्रतिष्ठानले प्रदर्शनीमा स्तनपानको आसन, फाइदा, तरिका, स्तनपानको प्रक्रिया, आमा दूध भण्डारण गर्ने विधि, आमाको दूध प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन २०४९ जस्ता विषयहरु समावेश गरेको थियो ।