हेटौँडाः चालु आर्थिक वर्षका लागि हेटौँडा उपमहानगरपालिकाले वृद्धि गरेको करको दरमा पुनर्विचार गर्न जिल्लाका सहकारी संस्थाहरुको सञ्जालले एकसाथ आग्रह गरेको छ । बुधबार नगरप्रमुख र उपप्रमुखलाई भेटेर सहकारी संस्थाहरुको सञ्जालले ध्यानाकर्षणपत्र बुझाएको छ । मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको अध्यक्षतामा मंगलबार हेटौँडामा बसेको जिल्ला सहकारी सञ्जालको बैठकले उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि तय गरेको करको ढाँचा सहकारी संघ संस्थाको हितमा नभएकोले पुनर्विचार गर्नका लागि उपमहानगरको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।
सहकारी सञ्जालले निर्णय लगत्तै नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँलाई भेटेर ध्यानाकर्षण पत्र बुझाइएको छ । गत आर्थिक वर्ष सबैखाले सहकारी संस्थाहरुलाई वार्षिक दुई हजार पाँच सय रुपैयाँ राजश्व लिएको उपमहानगरले चालु आर्थिक वर्षमा सहकारीलाई वर्गीकरण गरेर १२ हजार रुपैयाँसम्म राजश्व असुल्ने भएको छ । सबैभन्दा बढी बहुउद्देश्यीय सहकारी संस्थाले १२ हजार रुपैयाँ, बचत तथा ऋण सहकारी संस्थाले आठ हजार रुपैयाँ, दुग्ध र कृषि सहकारीले एक हजार पाँच सय रुपैयाँ र अन्य सहकारीले पाँच हजार रुपैयाँ राजश्व तिर्नुपर्नेछ ।
“सहकारी क्षेत्रको आर्थिक अवस्था जटिल भइरहेको समयमा सरोकारवालाहरुसँग बिना परामर्श नगरी एकपक्षीय रुपमा अवैज्ञानिक र अब्यवहारिक रुपमा बृद्धि भएको व्यवसाय करलाई व्यवहारिक र एकरुपता कायम गर्नका लागि अविलम्ब करको दर पुनर्विचार गर्न अनुरोध गर्दछौँ ।” ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ । सहकारी सञ्जाल मकवानपुरले दुग्ध उत्पादक र कृषि सहकारी संघ संस्थाहरुलाई उपमहानगरपालिकाले गत बर्षभन्दा ब्यवशाय कर घटाएकोमा धन्यवाद दिँदै बाँकी संघ संस्थाहरुको हकमा बृद्धि गरिएको करको दरलाई घटाई दुग्ध उत्पादक र कृषि सहकारी संघकै समान दर कायम गर्न अनुरोध गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझाउने क्रममा मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष नारायणप्रसाद देवकोटा, राष्ट्रिय सहकारी महासंघ लि. का सञ्चालक बद्रीप्रसाद लम्साल, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडका अध्यक्ष रामहरि न्यौपाने, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटडका अध्यक्ष हरिप्रसाद कँडेल, जिल्ला कृषि सहकारी संघ लिमिटेड मकवानपुरकी उपाध्यक्ष रेखा खतिवडा, राष्ट्रिय सहकारी बैकं लिमिटेड, बागमती प्रदेश कार्यालय प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुन, फिल्ड कार्यालय हेटौडाका ईञ्चार्ज बिदुर खड्का लगायतको उपस्थिति रहेको थियो ।