हेटौंडा उपमहानगरपालिका ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले महत्वपूर्ण विषयमा छलफल गर्ने क्रममा नगरको प्रमुख दल नेकपा एमालेलाई वाइपास गरेको छ । उपमहानगरले व्यवसाय करमा उच्चवृद्धि गरेको भन्दै व्यवसायीले आन्दोलनको चेतावनी दिएपछि व्यवसायीसँग मंगलबार बिहानका लागि तय भएको वार्तामा हेटौँडा उपमहानगरपालिकाले एमालेलाई वाइपास गरेको हो । नगर सभा र नगर कार्यपालिकामा बहुमत रहेको दल नेकपा एमालेलाई वाइपास गर्दै उपमहानगरपालिकाले व्यवसायीसँग वार्ता गरेको हो ।

मंगलबार बिहान भएको वार्तामा नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली सहभागी हुनुहुन्थ्यो । काँग्रेस सभापति लामा र रास्वपा सभापति पराजुलीलाई नगरप्रमुख मीना कुमारी लामाले नै वार्तामा सहभागी हुनका लागि फोन गरेर बोलाउनुभएको हो । यता नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले भने आफूलाई जानकारी नै नभएको बताउनुभयो । नगरप्रमुख लामासँग एमाले अध्यक्षलाई नबोलाइएको विषयमा बुझ्न खोज्दा उहाँको फोन उठेन ।

नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले व्यवसायीले राजश्व वृद्धिको विषयमा विरोध गरिरहेको र त्यही विषयमा छलफल गर्न भनेर नगरप्रमुखले बोलाएपछि गएको बताउनुभयो । व्यवसायीका केही विषय जायज नै भएको र उपमहानगरले पनि राजश्व आम्दानी बढाउने विषयमा स्वभाविक नै भए पनि व्यवसायीको मागलाई सम्बोधन गर्न आफूले सुझाव दिएको बताउनुभयो । यता रास्वपा मकवानपुरका सभापति भरत पराजुलीले पनि नगरप्रमुखले नै फोन गरेर बोलाउनुभएपछि गएको जानकारी दिनुभयो । बैठकमा एमाले अध्यक्ष या प्रतिनिधि नहुनुभएको विषयमा छलफल भएको पराजुलीले बताउनुभयो । व्यवसायीको मागलाई सम्बोधन गर्न समिति बनाएर जान सुझाव दिएको उहाँले बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य रहनुभएकी नगरप्रमुख लामाले काँग्रेस र रास्वपाका जिल्ला अध्यक्षलाई आफैँले फोन गरेर बोलाउनु र एमालेका जिल्ला अध्यक्षलाई नबोलाउनुलाई अर्थपूर्ण मान्न सकिन्छ । राजश्व परामर्श समितिमा प्रतिनिधित्व गर्ने मकवानपुर उद्योग वाणिज्य संघका प्रतिनिधि सम्मिलित बैठकमा राजश्वको दर नबढाउने, दायरा बढाउने सहमति भएको र नगर कार्यपालिकाका सदस्य अर्थात् वडा अध्यक्षहरुले समेत राजश्व वृद्धिको विषयमा जानकारी नभएको उल्लेख गरिरहेका बेला मकवानपुर उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघ मकवानपुरले चरणवद्ध आन्दोलनको घोषणा गर्ने चेतावनी समेत दिइरहेको छ । यस्तो बेला नगरप्रमुख लामाले प्रमुख दललाई वाइपास गर्दा समस्या थप जटिल बन्ने सम्भावना रहन्छ ।