हेटौँडाः मकवानपुर उद्योग वाणिज्य संघले बोलाएको बैठकमा हेटौँडा उपमहानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्षहरु मात्रै सहभागी भएका छन् । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि राजश्व दरमा उल्लेख्य वृद्धि गरेको भन्दै आन्दोलनको तयारीमा रहेका व्यवसायीले नगर कार्यपालिकाको सदस्यको रुपमा रहेका वडाअध्यक्षहरुलाई आफ्ना विषय बुझाउन मंगलबार साँझ बैठकको आयोजना गरेको थियो ।
बैठकमा नेकपा एमालेबाट विजयी हेटौँडा उपमहानगरपालिका ४, ५ र १० नम्बर वडाअध्यक्षहरु क्रमशः नवीन सिग्देल, सुशील घिमिरे र फुर्वा दोर्जे लामा सहभागी हुनुहुन्थ्यो । मंगलबार बिहान नगरप्रमुख र उपप्रमुखसँग छलफलपछि मकवानपुर उद्योग वाणिज्य संघले साँझ ५ बजेका लागि वडाअध्यक्षहरुसँग बैठक आव्हान गरेको थियो । कार्यपालिका हुँदै नगर सभाबाटै पारित भएको उल्लेख गर्दै नगरप्रमुख मीना कुमारी लामा र उपप्रमुख राजेश बानियाँ राजश्व वृद्धिको विषयमा पन्छिरहेको सन्दर्भमा संघले कार्यपालिका सदस्यको रुपमा वडाअध्यक्षहरुलाई आफ्ना समस्या राख्नका लागि बैठक आव्हान गरेको थियो ।
मंगलबार दिउँसो १ बजेदेखि वडाअध्यक्षहरुलाई टेलिफोनबाटै बैठकमा सहभागी भइदिन आग्रह गरिएको थियो । वडाअध्यक्षहरुलाई आग्रह गर्न सुरु गरेलगत्तै नगर उपप्रमुख राजेश बानियाँले भने वडाअध्यक्षहरुको बैठक किन राखिएको भन्दै संघका उपाध्यक्ष प्रमोदसिंह रानाभाटलाई जिज्ञासा राख्नुभएको थियो । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोदसिंह रानाभाटका अनुसार संघको सचिवालयबाट वडाअध्यक्षहरुलाई बैठकका लागि बोलाउन सुरु गरेलगत्तै नगर उपप्रमुख राजेश बानियाँले आफूलाई वडाअध्यक्षको बैठक किन राखिएको भन्दै फोन गरेर सोध्नुभएको थियो । उपप्रमुख बानियाँलाई कार्यपालिका सदस्यको रुपमा वडाअध्यक्षहरुलाई व्यवसायीका समस्या बुझाउन बैठक बोलाइएको जानकारी दिएको उपाध्यक्ष रानाभाटले बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिकाका १९ वटा वडा मध्ये ९ वटा वडामा नेकपा एमाले, ८ वटा वडामा नेपाली काँग्रेस विजयी भएको छ भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक एक वटा वडा जितेको छ । १९ जना वडाअध्यक्ष मध्ये नेपाली काँग्रेसबाट निर्वाचित २ नम्बर वडाअध्यक्ष विष्णुगोपाल महर्जन, ६ नम्बर वडा अध्यक्ष विष्णुबहादुर दाहाल र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित ९ नम्बर वडाअध्यक्ष सुकराम केसी अष्ट्रेलिया भ्रमणमा हुनुहुन्छ । ११ नम्बर वडाअध्यक्ष जुना दाहाल सासुआमा बित्नुभएर घरबाहिर हिँड्न अनुकुल छैन । १२ नम्बर वडाअध्यक्ष ललितबहादुर घलान जिल्ला समन्वय समिति अध्यक्ष हुनुहुन्छ ।
यसअघि मंगलबार बिहान हेटौँडा उपमहानगरपालिकाले व्यवसायीसँगको वार्तामा भने नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुलीलाई नगरप्रमुख आफैँले टेलिफोन गरेर बोलाउँदा नेकपा एमालेका अध्यक्ष श्रीधर पोखरेललाई बोलाएका थिएनन् । नगरवासी, व्यवसायीका मुद्दामा राजनीतिक रुपमा पनि सहयोग र असहयोगको जस्तो अभ्यास भइरहेको हो कि भन्ने पुष्टि हुने देखिन्छ । नगरप्रमुखले नै अस्वभाविक सक्रियता देखाएर दल विशेषलाई निषेध गर्नुले स्थानीय सरकार सञ्चालनमा थप जटिलताको सामना गर्नुपर्ने चुनौति थपिन सक्छ ।