हेटौँडा उपमहानगरपालिकामा मंगलबार बिहान भएको वार्तामा सहभागीहरु ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि करको दरमा उल्लेख्य वृद्धि गरेको भन्दै आन्दोलनको चेतावनी दिएका व्यवसायी र उपमहानगरपालिकाका अधिकारी बीच वार्ता भएको छ । मंगलबार बिहान हेटौँडा उपमहानगरपालिकाले मकवानपुर उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघ मकवानपुरसँग वार्ता गरेको हो । वार्तामा व्यवसायीको मागको विषयमा बिहिबार बस्ने कार्यपालिका बैठकमा छलफल गर्ने प्रस्ताव उपमहानगरपालिकाले राखेको छ । उपमहानगरपालिकाको प्रस्तावमा व्यवसायीले कुनै पनि हालतमा राजश्व वृद्धिको निर्णय फिर्ता लिनुपर्ने माग गरेका छन् ।

सोमबार साँझ टेलिफोन सम्पर्क गरी उद्योग वाणिज्य र निर्माण व्यवसायी संघलाई मंगलबार बिहानका लागि वार्तामा बोलाइएको थियो । मंगलबार बिहान हेटौँडा उपमहानगरपालिकाको सभाकक्षमा भएको वार्तामा व्यवसायीले संकटका बेला राजश्व वृद्धि गर्न उचित नहुने र साविककै अवस्थामा राजश्वको दर कायम गर्न आग्रह गरेका थिए । राजश्वको दर नघटाए व्यवसायीले चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

व्यवसायीले धर्ना र आम हड्तालसम्मको चेतावनी दिएपछि नगरप्रमुख मीना कुमारी लामाले व्यवसायीहरु विकास विरोधी भएको आरोप लगाउनुभएको बताइएको छ । “व्यवसायीले आफ्ना समस्या प्रस्तुत गरेर राजश्वको दर बढाउन नहुने, दर बढाए चरणवद्ध आन्दोलन गर्ने उल्लेख गरेको छ”, वार्तामा सहभागी एक व्यवसायीले भने, “व्यवसायीले आन्दोलन गर्छौं भनेलगत्तै नगरप्रमुखले तपाइँहरु विकास विरोधी हो भन्नुभयो ।” नगरप्रमुख लामाले नगरकै विकासका लागि राजश्वको दर बढाएको जीकिर गर्नुभयो । निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव राजेन्द्रप्रसाद चौलागाईले भन्नुभयो, “राजश्व आम्दानीको पैसाले मेयर र उपमेयरको घर बनाउने होइन । जनताकै सेवामा खर्चने हो भन्दै नगरप्रमुख लामाले भन्नुभयो ।”

व्यवसायीसँगको वार्ताको सुरुवातमा लचिलो जस्तो देखिए पनि नगरप्रमुख, उपप्रमुखहरु आन्दोलन गर्ने चेतावनीपछि भने आक्रामक बन्नुभएको थियो । नगरप्रमुख लामाले प्रदेश सरकार र संघीय सरकारसँग बुझेर करको दायरा बढाउने प्रक्रियाका बारेमा बुझ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको बताइएको छ । वार्ताका क्रममा हेटौँडा उपमहानगरपालिकाको राजश्व शाखा प्रमुख मनोज सुवेदीले पछिल्लो ५ वर्षमा राजश्वको दर नबढेको र गत वर्ष थोरै वृद्धि गरेकोले यो वर्ष वृद्धि दर केही बढी देखिएको उल्लेख गर्नुभएको थियो । व्यवसायीले भने २०७२ सालको भूकम्पदेखि नै व्यवसायी, नागरिक समस्यामा रहेको, कोभिड–१९ यता आर्थिक मन्दीले समेत व्यवसायी कमजोर भएको, राज्य आफैँले कामको भुक्तानी दिन नसकेको बेला राजश्वको दरमा उच्च वृद्धि जायज नभएको भनी जीकिर गरेका थिए ।

वार्तामा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, प्रवक्ता सविन न्यौपाने, १० नम्बर वडाअध्यक्ष फूर्वा दोर्जे लामा, कानुनी सल्लाहकार ईश्वरराज ढकाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष प्रमोदसिंह रानाभाट र उज्ज्वल चौलागाई, महासचिव दीपक उप्रेती, निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव राजेन्द्रप्रसाद चौलागाईको सहभागिता रहेको थियो । यस्तै वार्तामा राजनीतिक दलका जिल्ला अध्यक्ष तथा सभापतिहरुलाई समेत सहभागी गराइएको थियो । वार्तामा नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीको पनि सहभागिता रहेको थियो ।

वार्ताको विषयमा बुझ्न खोज्दा नगरप्रमुख लामाको टेलिफोन उठेन भने नगरउपप्रमुख राजेश बानियाँको फोन स्वीच अफ थियो ।