तस्बीर गुगल ।

हेटौँडाः चितवनको नारायणगढ बजार नजिकै एक व्यक्तिलाई बाघले आक्रमण गर्यो । ६० वर्षीय पुरुषलाई आइतबार बिहान बाघले आक्रमण गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी शर्माका अनुसार भरतपुर महानगरपालिका–१ नारायणी नदी किनार ‘पोखरा बसपार्क’मा बाघले आक्रमण गर्दा भरतपुर महानगरपालिका–२ बेलटाँडीका पशुपति श्रेष्ठ घाइते भएका छन् । बाघको आक्रमणका कारण श्रेष्ठको मुख र हातमा चोट लागेको सहायक प्रजिअ शर्माले बताउनुभयो । श्रेष्ठको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

विहान व्यायाम गर्न निस्केका श्रेष्ठलाई बाघले आक्रमण गरेको उहाँले बताउनुभयो । अधिकांश मानिसहरुको व्यायाम गर्ने क्षेत्र भएकाले श्रेष्ठ पनि सोही क्षेत्रमा व्यायामका लागि पुगेको र सोही क्रममा उहाँलाई बाघले आक्रमण गरेको सहायक प्रजिअ शर्माले बताउनुभयो । घटनास्थल नजिकै खोलाको बगरमा बाक्लो काँसको घारी रहेको र सोही काँसको घारीमा लुकेर बाघले श्रेष्ठलाई आक्रमण गरेको सहायक प्रजिअ शर्माको भनाई छ । काँसघारीमा लुकेर बसेको बाघले अचानक श्रेष्ठलाई आक्रमण गर्दा उहाँको पाखुरामा गहिरो चोट लाकेको छ भने मुख र ढाडमा पनि चोट लागेको प्रजिअ शर्माको भनाई छ । श्रेष्ठलाई बाघले आक्रमण गरी घिसार्न थालेपछि व्यायाम गरिरहेका अन्य मानिसहरु कराएपछि बाघ पुनः सोही काँसघारीमा परेको सहायक प्रजिअ शर्माले बताउनुभयो । बाघको खोजीका लागि निकुञ्जको टोली ३ वटा हात्तीमा परिचालन गरेर आइतबार राती ८ः४५ बजे बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको थियो ।

चालु आर्थिक वर्षमा मात्र बाघको आक्रमणबाट ४ जनाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जको तथ्यांक रहेको छ । निकुञ्जको क्षेत्राधिकार भित्र मात्र बाघले आक्रमण गरेर उनीहरुको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिनुभयो ।

‘विकास बाघको बासस्थानसम्म पुग्यो’
मानवीय क्रियाकलापका कारण बाघ र मानिस बीचको द्वन्द्व बढिरहेको अनुसन्धानकर्ताहरु बताउँछन् । मानिस बाघको प्राकृतिक आहार नभएकाले पनि बाघले सोझै आक्रमण नगर्ने उनीहरुको भनाई छ । बाघ विज्ञ एवम् राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत डा. झमक बहादुर कार्कीका अनुुसार मानिसहरु विकासको क्रममा अघि बढ्दा बाघको क्षेत्रमा पुगेका हुन् । जंगल वस्तीसँग जोडिएको वा बाघ राती हिँड्ने भएकाले आफ्नो मुभमेन्टका क्रममा झुक्किएर मानव वस्तीमा प्रवेश गर्न सक्ने बाघका विषयमा पिएचडी गर्नुभएका कार्कीले बताउनुभयो । सो अवस्थमा मानिससँग जम्काभेट हुँदा मात्र दुर्घटना हुन सक्ने र साधारणतया नरभक्षी भइसेकको बाघ बाहेक अन्य बाघहरु मानव वस्तीमा प्रवेश नगर्ने उहाँको भनाई छ ।

‘स्वभावको हिसावले बाघ शहर पसेका होइनन् । हाम्रा शहरहरुको विकास बाघको बासस्थानसम्म पुगेको हो । मध्यवर्ती क्षेत्र नजिकका सबै क्षेत्रहरु शहरीकरणमा रुपान्तरित भइरहेका छन् । बाघ संयोगले बाहिरिँदा मानववस्तीमा आएजस्तो देखिएको हो’। उहाँले भन्नुभयो, ‘नयाँ बाघहरुले बासस्थान खोज्ने क्रममा वस्तीमा प्रवेश गर्न सक्छन् । बाघ आफ्नो क्षेत्र बनाएर बस्ने भएकाले अर्को बाघसँग लडेर बस्न नसकेको खण्डमा विस्थापित हुने गर्दछ र नयाँ बासस्थानको खोजीमा निस्कन सक्छ । सोही क्रममा वस्ती हुँदै अन्य जंगलमा जान सक्छ ।’

उहाँका अनुसार मानिस बाघको प्राकृतिक आहारा होइन । मानिसको आँखाको उचाई र बाघको आँखाको उचाई कम हुने भएकाले बाघको स्वभाव आफू भन्दा शक्तिशाली ठान्ने डा. कार्कीले बताउनुभयो । बाघले आफ्नो क्षेत्र निर्धारण गर्दा कमलो बोक्रा भएको रुखमा दुई खुट्टा उभिएर नंग्राले चिन्ह लगाउँछ र अर्को बाघ सो क्षेत्रमा देखापरे आफ्नो नंग्राले उचाई नाप्ने र शक्ति दाज्ने उहाँको भनाई छ ।
‘बाघको स्वभाव अनुसार उचाई बलको स्वभाव हो । मानिस उभिएर हिँड्दा ५ फिट उचाई र बाघको ३ फिट हुन्छ । जसले गर्दा बाघले मानिसलाई हेर्दा माथितिर हेर्नुपर्छ र उचाई बढी भएकाले बढी शक्तिशाली हुन्छ भन्ने स्वभाव हुन्छ । सोही कारणले बाघ मानिसको आसपास नपर्ने र दायाँबायाँ लाग्ने गर्दछ । मानिसको सुंघ्ने क्षमता बाघको जस्तो हुँदैन । मानिसको तुलनामा बाघको सुंघ्ने शक्ति बढी हुन्छ । त्यसैले मानिस नै बाघसँगको अन्तरक्रियामा पर्ने गर्दछ’, उहाँले भन्नुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेश थापाका अनुसार बाघ प्रतिस्पर्धा गरेर बाँच्ने प्राणी भएकाले ३ कारणले मात्र जंगलबाट बाहिरिने गर्दछ । बाघ अनुशासित हुने भएकाले बासस्थानका लागि ३ विषय अनुकुल हुनुपर्ने उहाँले बताउनुभयो । बाघको नियमित बासस्थानमा आहारा, पानी र लुक्ने ठाउँ मध्ये कुनै एउटा प्रभावित भएमा विस्थापित हुने थापाको भनाई छ । प्रतिस्पर्धाका क्रममा अरु बाघले खेदेका कारणले जंगलबाट विस्थापित भएर बाघहरु जंगलबाट वस्तीतिर आउन सक्छ । नेपालमा बाघको संख्या बढिरहेकाले आवश्यक पर्ने बासस्थानको क्षेत्र अपुग भएकाले पनि विस्थापित भएर बाहिरिएको हुनसक्ने थापाले बताउनुभयो । नयाँ बासस्थानको खोजीमा निस्केका बखत मानव वस्तीको आसपास पुग्ने गरेको उहाँको भनाई छ ।

‘बाघ आफ्नो क्षेत्र निर्धारण गरेर बस्ने गर्दछ । क्षेत्र विस्तार वा नयाँ क्षेत्र निर्धारणका क्रममा जसले जित्यो त्यो त्यही बस्ने, जसले हार्यो त्यो कि मर्ने की भाग्ने नै हो । आफ्नो क्षेत्रबाट खेदिएपछि त्यो बाघको बस्ने ठाउँ हुँदैन र अरुले नदेख्ने, आक्रमणमा नपरियोस् भनेर लुक्ने गर्दछ । जसले गर्दा आहाराको कमि हुन्छ र यस्तै बस्तीहरुमा आउने गदर्छ’, उहाँले भन्नुभयो, ‘सुरुमा यसले गाईबस्तुको शिकार गर्छ र पछि भएपछि मान्छेलाई आक्रमण गर्छ । अहिले वर्षाको समय भएकाले पानी बढी रहेको छ । पानी अभाव नरहेको र बढी पानी भएकाले बाघको बासस्थान डुवानमा परेर अर्को ठाउँको खोजीमा बाहिरिएको हुनसक्छ । बाघ रहेको ठाउँमा आहाराको कमी भएकाले पनि विस्थापित भएको हुनसक्छ ।’

अव्यवस्थित विकास निर्माणको विषयले पनि बाघ तथा वन्यजन्तुको बासस्थान प्रभावित भएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार विकास निर्माण व्यवस्थित गर्न नसक्दा वातावरणीय प्रभाव पर्नुका साथै वन्यजन्तुको अवस्थितिमा पनि खलल पुग्ने र बासस्थानबाट बाहिरिने अवस्था रहन्छ । थापाका अनुसार बाघको स्थायी बासस्थान नहुने तर, बाघले आफ्नो क्षेत्र आफैं निर्धारण गर्ने र त्यसलाई विस्तार गर्ने गर्दछ ।

‘मानिसहरुलाई देखेपछि बाघ आफैं अर्को बाटो हिँड्ने गर्दछ । अन्य जनावरलाई देखेपनि दायाँबायाँ लाग्ने स्वभाव बाघको रहेको छ । सामान्य अवस्थामा बाघले सोझै अगाडिबाट आक्रमण गर्दैन । असामान्य र तर्सिएको अवस्थामा मानिस र बाघको जम्काभेट भयो भने आक्रमण गर्ने गदर्छ’, थापाले भन्नुभयो । बाघले आफ्नो निशानामा लिएको जनावरलाई मात्र आक्रमण गर्ने स्वभाव रहेको उहाँले बताउनुभयो । ५० वटा मृगको हुलमध्ये पनि बाघको रोजाईमा परेकोलाई मात्र आक्रमण गर्ने उहाँको भनाई छ । एउटा नसके प्रायः अर्को आक्रमण गर्ने बाघको स्वभाव नहुने उहाँले स्पष्ट पार्नुभयो । क्षेत्रफलको हिसाबले बाघको बासस्थानका लागि उपयुक्त र अनुपयुक्त क्षेत्रको निर्धारण हुने गर्दछ । नेपालमा सन् २०२२ मा ३५५ बाघ गणना गरिएको र नेपालको बर्दियामा सबैभन्दा बढी बाघको बासस्थान रहेको छ । बर्दियामा सानो क्षेत्रमा धेरै बाघको घनत्व रहेको थापाले बताउनुभयो । उहाँका अनुसार प्रति १०० वर्ग किलोमिटर क्षेत्रफलमा ७ देखि ८ वटा बाघहरु बसेको देखिन्छ । तर, केही स्थानमा १३ वटासम्म पनि बसेको पाइएको छ ।

अहिलेको संख्या र निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र तथा अन्य मध्यवर्ती क्षेत्र र सामुदायिक वनको क्षेत्रको हिसावले सन्तुलित रहेको उहाँको भनाई छ । ती क्षेत्रहरुबाट बाघले आफ्नो क्षेत्र तय गरिसेकको र अहिलेको अवस्थामा बाघका लागि बासस्थान, आहार र पानीको व्यवस्था गर्न सके उचित हुने उहाँले बताउनुभयो । ‘अहिलेको समयमा बाघहरु बाहिर निस्किएर मानिसहरुमा आक्रमण गर्नु दुर्घटना मान्न सकिन्छ । अहिलेको अवस्थामा बाघ प्रभावित बनेर बाहिर निस्केका होइनन् । समस्या भएर निस्केका बाघहरुको व्यवस्थापनका लागि अन्य विकल्पहरु सोच्नुपर्ने हुन्छ । बाघ विस्थापित भएर बाहिरिँदा त्यो जंगलमा अटाएन वा जंगलमा बाघको आहार तथा बासस्थान र पानीको अनुकुलता भएन भन्ने हो । विस्थापित भएर बाहिरिएका बाघका लागि अनुकुल नयाँ जंगलको व्यवस्था गर्ने, निकुञ्ज आरक्ष तथा संरक्षित क्षेत्रमा बाघहरु राख्न सक्ने अवस्था छैन । अन्य सामुदायिक वन, पार्क, प्राकृतिक स्कुलोजरहरु बनाएर राख्न सकिन्छ । स्थानीय पार्क तथा स्मारकमा पर्यापर्यटनको रुपमा ति बाघहरुलाई व्यवस्थापन तथा संरक्षण गर्न सकिन्छ । बाघलाई समातेर खोरमा हालेर राखिन्छ त्यो वैज्ञानीक समाधानको उपाय होइन ।’ थापाले भन्नुभयो ।