सुरुङमार्ग (बायाँ) र द्रूतमार्गको पुलका लागि निर्माणाधिन अग्ला पिलरहरु (दायाँ) ।

हेटौँडाः निर्माणाधीन द्रूत मार्ग (फास्ट ट्र्याक) को धेद्रे सुरुङको ब्रेक थ्रु भएको छ । सोमबार एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलगत रुपमा सो सुरुङको ब्रेक थ्रु गर्नुभएको हो ।

मकवानपुरको बकैया गाउँपालिकास्थित धेद्रे सुरुङको काम पोलि छङ्गदा निर्माण कम्पनीले ठेक्का लिएर काम गरिरहेको छ । यससँगै फास्ट ट्रयाक अन्तर्गतको ठेक्का सम्झौता भएको प्याकेज नम्बर २ का सबै सुरुङको ब्रेक थ्रु भएको छ । फास्ट ट्र्याक अन्तर्गतको १.६५ किलोमिटर लम्बाईको सो सुरुङको दुवै तर्फको ब्रेक थ्रु गरिएको हो ।

यसअघि गत जेठमा उक्त सुरुङको मकवानपुर तर्फको खण्डको ब्रेक थ्रु गरिएको थियो भने हाल सुरुङको काठमाडौंतर्फको १.७२८ किलोमिटर दूरी खनेर ब्रेक थ्रु गरिएको हो । फास्ट ट्रयाकको कुल ७०.९७७ किलोमिटर दुरी मध्ये १०.३०९ किलोमिटर सुरुङ मार्ग रहेको छ ।