हेटौंडाः मकवानपुरमा विदेशबाट फर्कनेहरुको संख्या लकडाउन पछि बढेको छ । विदेशबाट आउनेको संख्या मकवानपुर जिल्लामा बढेपनि अधिकांश क्वारेन्टाइनहरु खाली भएका छन् । मुलुक लकडाउन हुँदा चैत्र १५ गतेसम्म मकवानपुरमा विदेशबाट फर्कनेको संख्या २ सय ५३ रहेको थियो । अहिले मकवानपुरमा जिल्लामा विदेशबाट फर्कनेको संख्या करिब एक हजार रहेको छ । हेटौंडा उपमहानगरपालिकामा गत चैत्र १५ गतेसम्म १ सय २२ जना विदेशबाट फर्किएको तथ्यांक रहेको छ । त्यसपछि विदेशबाट कति फर्किएका भन्ने यकिन तथ्यांक छैन । उपमहानगरको १९ वटै वडामा विदेशबाट आउनेहरुको संख्या संकलन गर्ने कार्य भएपनि सम्पूर्ण तथ्यांक आइनपुगेको हेटौंडा उपमहानगरपालिकाका आयूर्वेद तथा जनस्वास्थ्य शाखाका प्रमुख रमन झाले बताउनुभयो ।
त्यस्तै मकवानपुरको थाहा नगरमा हालसम्म ७९ जना विदेशबाट आएको स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले बताउनुभयो । चैत्र १५ गतेसम्म थाहा नगरमा ३६ जनामात्र विदेशबाट फर्किएका थिए । मनहरी गाउँपालिकामा लकडाउनको अवधिमा विदेशबाट १ सय ६० जना गाउँपालिकामा आएको स्वास्थ्य शाखाका प्रमुख टिकाराम अधिकारीले बताउनुभयो । मनहरीमा गत चैत्र १५ गतेसम्म विदेशबाट ४२ जना आइपुगेका थिए ।
बागमती गाउँपालिकामा गत चैत्र १५ सम्म ११ जना विदेशबाट आएका थिए भने हालसम्म ८६ जना विदेशबाट फर्किएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिनेश गुप्ताले जानकारी दिनुभयो । त्यस्तै ईन्द्रसरोवर गाउँपालिकामा २२ जना, भीमफेदी गाउँपालिकामा ४५ जना, राक्सिराङमा २९ जना, बकैयामा ६५ जना विदेशबाट फर्किएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुखहरुले जानकारी दिएका छन् ।
क्वारेन्टाइनहरु खाली हुँदै
विदेशबाट जिल्लामा आउनेको संख्या थपिँदै गएपछि हेटौंडा उपमहानगरपालिकाले अहिले ८ वटा क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ७, ९, १०, ११, १२, १३, १५ र १६ मा क्वारेन्टाइन सञ्चालनमा रहेको छ । हेटौंडा–१० को गोरक्षेश्वर क्वारेन्टाइन भने हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको छ । अन्य ७ स्थानमा वडा कार्यालयले सञ्चालन गरिरहेका छन् । अहिले हेटौंडा ९, १०, १६ बाहेक अन्य वडाहरुमा भने क्वारेन्टाइनमा बस्ने मान्छे नभएको बताइएको छ । वडा नम्बर ११, १२, १३, १५ मा भने होम क्वारेन्टाइनमा रहेको जनाइएको छ । हालसम्म हेटौंडा उपमहानगरपालिकामा ५ सय बढीको पिसिआर विधिबाट कोरोना परिक्षण भएको छ । हेटौंडा नगरका ७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो भने अहिले सबै निको भएर घर फर्किएका छन् । मकवानपुर जिल्लामा कोरोना संक्रमण हुने संख्या २९ पुगेको हेटौंडा स्थित आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।
थाहा नगरपालिकामा हालसम्म क्वारेन्टाइनबाट हालसम्म ७९ जनाले सेवा लिएको थाहा नगरपालिकाले जनाएको छ । थाहा नगरपालिकामा हालसम्म ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जिल्लाको मनहरी गाउँपालिकाले विदेशबाट आउनेको संख्या वृद्धि भएपछि ३ वटा क्वारेन्टाइन सञ्चालन ल्याएको थियो । अहिले मनहरी गाउँपालिकाका वडा नम्बर ३, लामिटारको सभाहलमा रहेको क्वारेन्टाइन निष्कृय रहेको छ । मनहरी–३, हाँडीखोलाको महेन्द्रज्योति र मनहरी–७ को राष्ट्रिय आधारभूत विद्यालयमा सञ्चालन रहेको क्वारेन्टाइन सञ्चलानमा रहेको गाउँपालिका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले जानकारी दिनुभयो । मनहरी गाउँपालिकामा हालसम्म ७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने सबैजना निको भएर घर फर्किएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकमा हालसम्म १ सय जनाको पिसिआर विधिबाट कोरोना परीक्षण भएको स्वास्थ्य संयोजक अधिकारीले बताउनुभयो ।
बागमती गाउँपालिकामा विदेश तथा अन्य जिल्लाहरुबाट आउनेको संख्या बढेपछि ६ स्थानमा क्वारेन्टाइन सञ्चालन गरिएको थियो । अहिले सबै वडाहरुलाई पायक पर्ने गरी ७० बेडको २ स्थानबाट मात्र क्वारेन्टाइनको सेवा दिइरहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख दिनेश गुप्ताले जानकारी दिनुभयो । लकडाउनकामा अहिले क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै गएको उहाँले बताउनुभयो । काठमाडौंमा परिक्षण गरेको बागमतीका १ जनामा कोरोना संक्रमण पाइएको र अहिलेसम्म गाउँपालिकामा कोहि पनि संक्रमित नभएको उहाँको भनाई छ । हालसम्म बागमती गाउँपालिकाका ३६ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो ।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको क्वारेन्टाइनमा बस्ने मान्छे नभएपछि निष्क्रिय भएको छ । ईन्द्रसरोवरमा हालसम्म १ जनामा कोरोना पोजेटिभ देखिएको र अहिले हेटौंडाको आइसोलेसनलमा रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख मन्नुनाथ अधिकारीले जानकारी दिनुभयो । भीमफेदी गाउँपालिकाको क्वारेन्टाइनमा पनि अहिले कोही पनि छैन । काठमाडौं जिल्लामा परिक्षण गर्दा भीमफेदीका २ जनामा कोरोनाको संक्रमण भेटिएको र क्वारेन्टाइनमा बस्ने मान्छे आए तयारी अवस्थामा रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनाम थिङले जानकारी दिनुभयो । राक्सिराङ गाउँपालिकामा हालसम्म २९ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण भएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य प्रमुख विजय कापरीले जानकारी दिनुभयो । राक्सिराङमा एउटा क्वारेन्टाइन सञ्चालनमा रहे पनि न्यून संख्यामा मानिसहरु रहेको उहाँले जानकारी दिनुभयो ।
बकैया गाउँपालिकाले ३ स्थानमा सञ्चालन गरेको क्वारेन्टाइन मध्ये अहिले २ वटा बन्द भएको छ । अहिले बकैया–४ को महेन्द्र मावि क्वारेन्टाइनमात्र सञ्चालनमा रहेको स्वास्थ्य प्रमुख फटिकरमन प्याकुरेलले बताउनुभयो । क्वारेन्टाइनमा बुधबार १५ जना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा ५५ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण भएको छ । अहिले विदेशबाट पालिकामा फर्कनेको संख्या बढे पनि क्वारेन्टाइनमा बस्ने संख्या घटेको उहाँको भनाइ छ ।