‘तपाई सयौं कुकुरहरुको फौज बनाउनुस् तर सेनापति सिंहलाई बनाउनुस् । सिंहले यति उत्साह र मनोबल बढाउँछ कि लडाईँमा ति कुकुर पनि सिंह झैं लड्छन् । तर तपाईँ सिंहको फौज बनाउनुस् सेनापति कुकुरलाई बनाउनुस् । ति सिंहको फौज पनि कुकुर झैं मर्छन्’ नेपोलियन बोनापार्ट । मूलतः सेनापतिको साहस र आँटले निर्धारण गर्छ उसको फौजको मनोबल बढ्ने कुरा । नेपालीले परिवर्तनको नाममा ठूलो शहादत र उत्सर्ग गरेको ईतिहास छ । बलिदानीपूर्ण संघर्षको उपजको रुपमा आएको उपलव्धिले आखिर नेपाली जनतालाई के दियो ?

नेतृत्व देश बनाउने साहसी, आँटिलो र भिजनरी हुन नसक्दा मूलूक र जनताले ठूलो दुःख, पीडामात्र पाए । प्रणाली फेरियो, पटक–पटक गरिएको परिवर्तन फगत नेता र उसका नजिकका मानिसहरुको फाईदाका लागि मात्र भयो । व्यवस्था बदलियो, अवस्था जस्ताको त्यस्तै रह्यो । २५० वर्षको ईतिहास बोकेको राजालाई पाखा लगाइयो, राजसंस्थालाई विकास र लोकतन्त्रको दुश्मन करार गरियो । आज राजा हटेको पनि १८ वर्ष हुन थाल्यो । खोई विकासले गति लिएको ? खोई लोकतन्त्रले नेपाली जनताको मुहारमा परिवर्तन ल्याएको ? राजालाई बाधक ठान्नेहरुले राजा हटेपछि चमत्कार गर्नुपर्ने थियो । किन देश झन् झन् कमजोर हुँदैछ । राजा भएर देश कमजोर भएको होईन रहेछ । आफूले लुट्न नपाएर राजा हटाएको रहेछ भन्ने कुरा घटनाक्रमहरुले पुष्टि गरेको छ ।

आज राजा छैन तर सयौं नयाँ राजाहरुको उदय भयो । तिनलाई पाल्न राज्यकोषबाट अर्बौं खर्च गरिन्छ । एउटा राजा हटाएर एकदर्जन नयाँ राजाहरु बनाईयो । तिनका राजशी ठाँट हेर्दा ति ज्ञानेन्द्र भन्दा चर्का छन् । एउटा परिवारको शासनको बिरूद्ध आवाज उठाउनेहरुले आज आफ्नै छोरी, ज्वाई, भाइ, भतिजा, श्रीमतिलाई शासन र सत्ताको केन्द्रमा राख्नु राजतन्त्रको नयाँ संस्करण हो भन्दा अत्यूत्ति नहोला । अझ नेताका छोराहरु कुनै राजकुमार भन्दा कम छैनन् । आज भुटानी शरणार्थी, सुन काण्डहरुमा यिनै राजकुमारहरुको संलग्नता देखियो ।

परिवर्तन खोजेका जनताले नयाँ शासन व्यवस्थामा कुनै नयाँ परिवर्तनको अनुभुति गर्न पाएका छैनन् । वर्तमान शासकीय स्वरुप आर्थिक अवस्था वैदेशिक सम्बन्ध, राष्ट्रियता झन् झन् कमजोर हुँदै गएको छ । यो किन भयो निर्मम ढंगबाट समीक्षा गर्ने बेला भयो । किन हाम्रो उत्पादन र उपादकत्व शून्यमा झर्यो ? किन सार्वजनिक ऋण र व्यापारघाटा बढेर गयो । शिक्षा, स्वास्थ्य र रोजगार उद्यमशीलता किन जीर्ण हुँदै गयो । रेमिटान्सको भर पर्नुपर्ने वित्तीय अवस्थाले हाम्रो यथार्थतालाई उजागर गर्दछ ।

निरन्तरको सरकार परिवर्तनको चक्रमा मुलुक फसेको छ । दुई ठूला दल मिलेर भर्खर नयाँ सरकार बनाएका छन् । यो सरकार जुन पृष्ठभूमिमा बन्यो त्यसको पछाडी थुप्रै रहस्यमय घटनाहरु जोडिएका छन् । भष्ट्राचारमा संलग्न उच्च तहका घरानीया नेता, कर्मचारी, बिचौलिया सबका सबको सात्तो उडेको अवस्थामा अप्रत्यासितरुपमा सत्ताको चावी बुझाउन पुगे बालकोटमा शेरबहादुर दम्पति ।
जसले मुलुकलाई यो अवस्थामा पुर्यायो पालैपालो तीन दशक भन्दा लामो अवधिसम्म सरकार चलायो आज तिनै पार्टी विकास, सुशासन र स्थिरताको नारा दिएर मिलेका छन् । वर्तमान सरकारले भष्ट्राचारको फाईल खोल्ने हो भने यो सरकार एक मिनेट टिक्दैन । भष्ट्राचारको विषयमा घनश्याम भुसाल भन्दै थिए, “राजाबाट कांग्रेसले सिक्यो, कांग्रेसले एमालेलाई सिकायो, कांग्रेस एमाले मिलेर भष्ट्राचार गर्न माओवादीलाई सिकायो । यसरी सबै भष्ट्राचारी भएपछि कसले कसलाई कार्वाही गर्ने ? तसर्थ यो प्रणाली नै असफल भैसक्यो । अब नयाँ ढंगबाट अघि बढ्न जरुरी छ ।”

नेपाली जनताले २०४६ सालको परिवर्तनपछि आन्दोलनको नेतृत्व गर्ने कांग्रेसलाई बहुमत दिए । आफ्नै पार्टी भित्रको गुट, आन्तरिक विवाद व्यवस्थापन गर्न असमर्थ कांग्रेसका सांसदले आफ्नै सरकारलाई अल्पमतमा पार्ने काम गर्यो । आन्तरिक झगडालाई प्रतिष्ठाको विषय बनाएका तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद बिघटन गरेर मध्यावधि निर्वाचन गराए । कांग्रेसले प्राप्त बहुमत थेग्न सकेन । त्यही दिनदेखि मुलुकमा अस्थिरताको बिजारोपण भयो । आज त्यहि बीउ अंकूरित र पल्लवित हुँदै झाँगिएको छ । कांग्रेस असफल हुँदा एमाले ठूलो दल भयो । यि दुबै पार्टीले पालैपालो सरकार चलाए । कांग्रेस, एमालेले खडा गरेको विकृतिको जगमै माओवादीको जनयुद्ध बलशाली हुँदै आयो । वस्तुतः मुलुकको राजनीति माओवादी हिंसाको चपेटामा पर्यो । एकातिर कांग्रेस–एमाले असफल हुँदै गएको, अर्कोतिर हिंसा चर्किएको अवस्थामा विस्तारै राजाको सक्रियता बढ्यो र राजा आफैं अग्रसर भएर मन्त्रिपरिषद्को अध्यक्ष भए । यस्तो अवस्थामा माओवादी र दलहरुलाई राजा विरुद्ध १२ बुँदे मार्फत भारतले मिलायो । फलतः त्यसले नयाँ राजनीतिक बाटो तय गर्यो। विकासको बाधक राजा हटाईयो । धर्म निरपेक्षता संघीयता जुन न आन्दोलनको माग थियो न १२ बुँदे मागमा ति मुद्दा समेटिएका थिए । यसरी जनताको भावना विपरित वैदैशिक शक्तिको दबावमा षड्यन्त्रपूर्वक नेपालीको हित र पहिचान समाप्त पार्ने खेलले गर्दा मुलुक निरन्तर अस्थिरता र अराजकताको भुमरीमा फस्यो । आज ठूला भनिने सबै दल सरकारमा छन् । म्यूजिकल चियर जस्तो यि पालैपालो सरकार चलाइराखेका छन् । पछिल्लो परिवर्तनपछि माओवादी हरेक सरकारमा सहभागी छ । यो पटक मात्र माओवादी सरकारबाट बाहिरिए पनि अब देशले समृद्धिको बाटो समात्छ भन्ने कतै आशाको सञ्चार जनतालाई छुन सकेको छैन । भएका युवाहरु विदेश पलायन छन् । भष्ट्राचार, विकृति, वेथितिको चाङ छ । सुशासनको अभाव छ । चाहेर नचाहेर जनताले त्यहि रुख, त्यहि सूर्य वा हँसिया हथौडा भन्नुपर्ने अवस्था छ । नयाँ दल भन्नेहरु पनि कान चिरिएकै अवस्थामा रै छन् । नयाँ दलको अध्यक्ष नै विवादास्पद देखियो । अझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान महामन्त्रीको आरोपमा सत्यता छ भने यो रास्वपा माथि थुप्रै प्रश्न खडा भएको छ । यो आलेखको प्रारम्भ उल्लेख गरे अनुरुप अबको नेतृत्व ईमान्दार साहसी देश बनाउने हुटहुटी बोकेको राष्ट्रवादी नेतृत्व आजको आवश्यकता हो । विद्यमान राजनीतिक परिदृश्य हेर्दा अहिलेको नेतृत्वप्रति आशावादी पटक्कै हुन सकिँदैन । एउटै नेतृत्व चार दशकदेखि एउटै अनुहार यिनले देश कहाँ पुर्याए ?

दोश्रो तहका नेतामा देश बनाउने हुटहुटी छ तर ती कि त गणितीयरुपमा पार्टीमा कमजोर अवस्थामा छन् कि ति पुरानै नेताको दलालीकरणमा मस्त छन् । तसर्थ राजनीति जमेको पोखरी जस्तो भएको छ । अझ वर्तमान सरकार दुई ठूला दल मिलेर बनेको छ । ति असफल हुँदा अब कस्तो गठबन्धन बनाउने ? केका लागि बनाउने ? किन बनाउने ? यो यक्ष प्रश्न खडा हुन्छ नै । २०८४ को खुब नारा सुनिन्छ । २०८४ अघि नै एउटा नयाँ विकल्प तयार हुन्छ नै । समय गतिशील र बलवान छ । मुलुकको राष्ट्रिय आवश्यकताले असफल ठूला दलको विकल्पमा नयाँ शक्तीको उदय टड्कारोरुपमा देखिन्छ । हेर्दै जाउँ, जनता उकुसमुकुसमा छन् । तिनले अब राम्रैसँग विवेक प्रयोग गर्छ नै । अस्तू ।