हेटौँडाः बागमती प्रदेशको राजधानीबाट प्रकाशन हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिक प्रेस काउन्सिल नेपालको वार्षिक संपरीक्षणमा ‘क’ वर्गमा परेको छ । काउन्सिलले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक संपरीक्षणको प्रारम्भिक नतीजा शुक्रबार सार्वजनिक गरेको हो । यसअघि पनि समृद्ध समाज दैनिक ‘क’ वर्गमै कायम थियो ।

काउन्सिलले पत्रिका वितरण, पत्रिकामा समावेश भएका समाचार र विचारलाई आधार बनाएर वार्षिकरुपमा मूल्यांकन गर्ने गरेको छ । ‘क’ वर्गमै समावेश भएको नतीजा सार्वजनिक हुनुलाई पत्रिकामा आवद्ध सबैको मिहिनेत र परिश्रमको प्रतिफल भएको सम्पादक सुरेश श्रेष्ठले बताउनुभएको छ । पाठकबीच लोकप्रिय, लेखकहरुले समेत आफ्ना विचार सम्प्रेषण गर्ने माध्यमको रुपमा समृद्ध समाज दैनिकलाई नै रोज्दै आउनुले पनि ‘क’ वर्गमा समावेश हुने आधार भएको सम्पादक श्रेष्ठको भनाइ छ ।

समृद्ध समाज दैनिकले शिक्षा, स्वास्थ्य, खेलकुद, स्थानीय सरकार, पालिका र जिल्ला तहको समग्र विकासको सन्दर्भलाई प्राथमिकता दिँदै आएको छ । सहयोगी, शुभेच्छुकप्रति आभार व्यक्त गर्नुहुँदै सम्पादक श्रेष्ठले आगामी दिनमा पनि समृद्ध समाज दैनिकलाई आम पाठक माझ थप लोकप्रिय पत्रिकाको रुपमा स्थापित गर्ने अठोट गर्नुभएको छ ।

प्रेस काउन्सिलले सार्वजनिक गरेको वर्गीकरणको विवरणअनुसार हेटौँडाबाट प्रकाशन हुँदै आएको साझा कुरा दैनिक र हेटौँडा सन्देश दैनिक पनि ‘क’ वर्गमा परेको छ भने प्रदेश दैनिक ख वर्गमा परेको छ । यस्तै ६ वटा साप्ताहिक पत्रिका ‘ख’ वर्गमा परेको छ भने ६ वटा ‘ग’ वर्गमा परेको छ । हाम्रो मातृभूमि र अक्षय अक्षर त्रैमासिक साहित्यिक पत्रिका ‘क’ वर्गमा परेको छ भने लोकभावना त्रैमासिक ‘ख’ वर्गमा परेको छ । एउटा पाक्षिक पत्रिका ‘ग’ वर्गमा परेको छ ।

काउन्सिलमा वार्षिक वितरण संपरीक्षणका लागि दर्ता भएका ९ सय वटा पत्रपत्रिकामध्ये सात सय ९३ वटा पत्रपत्रिका वर्गीकरणमा परेको जनाएको छ । ७० वटा पत्रपत्रिकाको कागजात नपुगेको, ३७ वटा हुबहुमा परेको काउन्सिलले जनाएको छ ।