पक्राउ परेका गौरव र चौधरीलाई प्रहरीले सार्वजनिक गर्दै ।

हेटौंडाः मकवानपुर प्रहरीले लागुऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–१ का २६ वर्षीय हरी गौरव र नवलपरासीको पण्डितपुर वनगरिया गाउँपालिका–१ का ४३ वर्षीय अनिल भर चौधरी रहेका छन् ।

बिहिबार साँझ ५ बजेर १० मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ५८३९ नम्बरको यात्रुबाहक बसलाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा बसमा सवार हरि र अनिललाई लागुऔषध चरेशसहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुमाथि शंका लागि खानतलासी गर्दा झोलाभित्र लुकाएर राखिएको चरेश १० किलो २ सय ५० ग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद लिएर प्रहरीले हिरासतमा राखी अनुसन्धान गरिरहेको जनाएको छ ।