हेटौँडाः बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार प्रदेशको राजधानी हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा औपचारिक रुपमा उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख पदमा नियुक्त हुनुभएका देवकोटाले साउन १७ गते बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गर्नुभएको थियो । एमाले–काँग्रेस गठबन्धनको सरकार गठनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यादवचन्द्र शर्मालाई हटाएर देवकोटालाई प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । देवकोटा नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको सदस्य हुनुहुन्थ्यो । उहाँ धनगढीका स्थानीय हो । देवकोटा बागमती प्रदेशको चौथो प्रदेश प्रमुख हुनुभयो ।
प्रदेश प्रमुखको पदभार ग्रहण समारोहमा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, सभामुख भुवनकुमार पाठक, प्रदेशका मन्त्री तथा सचिवहरु तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । सोही अवसरमा निवर्तमान प्रदेश प्रमुख शर्माको बिदाई समेत गरिएको छ । शर्माले ३ वर्ष प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नुभयो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निकट शर्मा २०७८ भदौ ४ मा प्रदेश प्रमुख नियुक्त हुनुभएको थियो ।