नगर उपप्रमुख राजेश बानियाँलाई ज्ञापनपत्र बुझाउनुहुँदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि व्यवसाय कर, घरबहालदरमा अस्वभाविक वृद्धि गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) ले शुक्रबार हेटौँडा उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष कृष्णकुमार गुप्ताको नेतृत्वमा व्यवसायीको एक समूहले हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । नगरप्रमुख लामा कार्यकक्षमा अनुपस्थित हुनुभएपछि व्यवसायीले हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँलाई ज्ञापनपत्र बुझाएको छ ।

व्यवसाय, उद्यम शिथिल र कमजोर अवस्थामा रहेको स्मरण गराउँदै संघले हेटौँडा उपमहानगरपालिकाले एकपक्षीय रुपमा विभिन्न शीर्षकमा भएका राजश्व, कर र घरबहालदरमा बृद्धि भएको भन्दै वृद्धि भएको कर भुक्तान गर्न नसक्ने स्पष्ट पारेको छ । उपमहानगरले अस्वभाविकरुपमा बढाएको करहरु तुरुन्त घटाई साविककै दरमा राख्न संघले आग्रह गरेको छ । उद्योगी, व्यवसायीको आग्रहलाई बेवास्ता गरिए आन्दोलन गर्ने संघले चेतावनी समेत दिएको छ । यस्तो विषम् परिस्थितिमा करको दर नभई दायरा बढाउन संघले आग्रह गरेको छ ।

ज्ञापनपत्र बुझाएपछि उपप्रमुख बानियाँसँगको अनौपचारिक छलफलका क्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाटले उपमहानगरको राजश्व परामर्श समितिको बैठकमा व्यवसायीका सुझावका आधारमा भएका निर्णय कार्यान्वयन नभएको भन्नुहुँदै समितिकै औचित्यमाथि प्रश्न उठाउनुभयो । “समितिमा व्यवसायीको सहभागिता गराउने, सरसल्लाह र निर्णय गर्ने अनि कार्यान्वयन नहुने हो भने किन समिति चाहियो ?”, उपाध्यक्ष रानाभाटले भन्नुभयो, “नगर सभा नै अन्तिम भए परामर्श समिति किन चाहियो ?” उपमहानगरले आम्दानीका स्रोत व्यवस्थापन गर्न नसकेको उल्लेख गर्नुहुँँदै चौतर्फी मारमा रहेका व्यवसायीलाई करको भार बढाउने निर्णय मान्य नहुने उल्लेख गर्नुहुँदै करको दर साविककै कायम गर्न उहाँले जोड दिनुभएको छ ।

अर्का उपाध्यक्ष उज्ज्वल चौलागाईंले उपमहानगरको निर्णय तुरुन्त नसच्याइए व्यवसायी आन्दोलनमा जान बाध्य हुने बताउनुभयो । खानेपानीमा छुट दिने सरकारले १५० प्रतिशतसम्म कर बढाउनुपर्ने कस्तो अवस्था आयो भन्दै चौलागाईले उपप्रमुख बानियाँलाई प्रश्न गर्नुभयो । संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले परामर्श समितिको निर्णय उल्लंघन भएको भन्दै आपत्ति जनाउनुभयो । संघको तर्फबाट अग्रवाल नै राजश्व परामर्श समितिमा प्रतिनिधिको रुपमा सहभागी हुनुभएको थियो ।

उपमहानरपालिकाको राजश्व शाखाका प्रमुख मनोज सुवेदीले नगर सभाले पारित गरेर लागु भइसकेको करको दर अहिले नै सच्याउन गाह्रो हुने उल्लेख गर्नुभयो । पालिकामा आउने प्रशासकीय अधिकृतहरु पर्यटकको रुपमा आएर नयाँ कुरा निर्णय गरेर जाने अनि कार्यान्वयनमा समस्या हुने गरेको सुवेदीको जीकिर छ ।

ज्ञापनपत्र बुझेर व्यवसायीका कुरा समेत सुनेपछि उपप्रमुख बानियाँले देशका ११ वटा उपमहानगरपालिका मध्ये हेटौँडा उपमहानगरपालिका न्युन आय भएको उपमहानगरको रुपमा रहेको बताउनुभयो । आफु पनि व्यवसायी पृष्ठभूमिकै भएको उल्लेख गर्नुहुँदै उहाँले अहिले २० प्रतिशत मात्रै व्यवसाय चलिरहेको भन्ने जानकारी आफूलाई रहेको बताउनुभयो । करको दर हेरफेर गर्न नगर सभा नै बोलाउनु पर्ने र त्यो जटिल हुने उहाँको भनाइ छ ।

व्यवसायीले नगर क्षेत्रमा सञ्चालनमा रहेका व्यवसायको वर्गीकरण र वृद्धिको आधार के हो भनी उपप्रमुख बानियाँसँग प्रश्न गरेका थिए । व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थाका व्यवसायीमाथि स्थानीय सरकारले करको दरमा उल्लेख्य वृद्धि गरी थप पीडा थपिदिएको भन्दै गुनासो गरेका छन् ।