अनिल अग्रवाल ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि राजश्वको दरमा व्यापक हेरफेर गरेपछि व्यवसायीमाझ तनावको स्थिति छ । घरबहालदरदेखि करको दरमा समेत उच्च वृद्धि भएसँगै व्यवसायी त्रसित छन् । व्यवसायीको छाता संस्था मकवानपुर उद्योग वाणिज्य संघले आज बिहिबार विरोधपत्र बुझाउने प्रयास गर्दा नगरप्रमुख मीनाकुमारी लामाले अस्वस्थताको कारण देखाउँदै व्यवसायीसँग भेट्न मान्नुभएन भने उपप्रमुख राजेश बानियाँले पनि भोलि शुक्रबार भेट्ने वाचा गर्नुभएको छ ।

यता हेटौँडा उपमहानगरपालिकाको राजश्व परामर्श समितिमा प्रतिनिधित्व गर्नुहुने मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल उपमहानगरको बजेट बनाउने क्रममा राजश्व परामर्श समितिको बैठकमा व्यवसायीको समस्या, आर्थिक मन्दीका कारण करको दायरा बढाउने तर, दर नबढाउने भन्ने सहमति भएको बताउनुहुन्छ । “व्यवसायी चौतर्फी मारमा छन्, राजश्वको दर नबाउने दायरा बढाउने भन्ने सहमति भएको हो । अहिले राजश्वको दरमा व्यापक हेरफेर भएको पाइयो । नगरप्रमुख र उपप्रमुखलाई ध्यानाकर्षण गराएका छौं”, वरिष्ठ उपाध्यक्ष अग्रवालले भन्नुभयो, “आज बिहिबार नगरप्रमुख र उप्रमुखलाई भेट्ने, ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम हुन सकेन । भोलि बुझाउँछौं ।”

आज बिहिबार एक कार्यक्रममा नगरप्रमुख मीनाकुमारी लामालाई भेटेर कुरा राख्दा राजश्वको कुरा उपप्रमुखले हेर्ने भन्दै पन्छनुभएको वरिष्ठ उपाध्यक्ष अग्रवालले जानकारी दिनुभयो । नगरप्रमुख लामाले अब चाहेर पनि सच्याउन नसक्ने प्रक्रिया दिनुभएको अग्रवालले बताउनुभयो । “नगरपरिषद्ले करको दर परिवर्तन गर्ने प्रस्ताव पारित गरेपछि यो वर्षलाई यही दर लागु हुन्छ । अर्को वर्ष सच्याउन सकिन्छ”, नगरप्रमुख लामालाई उद्घृत गर्दै वरिष्ठ उपाध्यक्ष अग्रवालले भन्नुभयो ।

उता राजश्व परामर्श समितिका संयोजक समेत रहनुभएका नगर उपप्रमुख राजेश बानियाँले राजश्व परामर्श समितिले निर्णय गरेको नभई नगर परिषद्ले निर्णय गरेको भनी जानकारी गराएको वरिष्ठ उपाध्यक्ष अग्रवालले जानकारी दिनुभयो । “राजश्व परामर्श समितिले व्यवसायीको सल्लाह बमोजिमनै करको दर नबढाउने निर्णय गरेका थियौं । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीले करको दर बढाउनुपर्ने भन्दै बढाइएको हो ।” उपप्रमुख राजेश बानियाँलाई उद्घृत गर्दै वरिष्ठ उपाध्यक्ष अग्रवालले बताउनुभयो ।

समृद्ध समाजसँग कुरा गर्नुहुँदै नगरप्रमुख मीना कुमारी लामाले व्यवसायीसँग छलफल गरेर समस्या समाधान गर्ने बताउनुभएको छ । नगरउपप्रमुख राजेश बानियाँसँग भने टेलिफोन सम्पर्क हुन सकेन । कुराकानीका लागि टेलिफोन गर्दा उपप्रमुख बानियाँले मोवाइल उठाउनुभएन ।