हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले अस्वभाविकरुपमा राजश्व वृद्धि र घरभाडादर वृद्धि गरेको भन्दै आम व्यवसायी आक्रोशित बनिरहेको सन्दर्भमा मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) ले आज बिहिबार नगरप्रमुख मीनाकुमारी लामालाई भेटेर राजश्व वृद्धिको विरोधपत्र बुझाउने कार्यक्रम रहेको थियो । तर, संघको कमजोर नेतृत्वका कारण विरोधपत्र बुझाउन सकेनन् ।
बरु नगरप्रमुख लामासँगै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताले हेटौँडामा एक शोरुमको उद्घाटन गर्नुभयो । व्यवसाय कर र घरभाडादरमा वृद्धि गरेर उपमहानगरले दोहोरो मारमा पारेको भनेर व्यवसायी चिन्तित भइरहेका बेला एउटा व्यावसायिक कार्यक्रममै व्यवसायीका नेता भने नगरप्रमुखसँगै कार्यक्रमको शोभा बढाइरहनुभएको थियो । संघको सचिवालयका अधिकारीकाअनुसार संघका अध्यक्ष गुप्ताले नगरप्रमुख लामासँग टेलिफोनमार्फत समय माग्दा नगरप्रमुख लामाले स्वास्थ्यको कारण देखाउँदै भेट्न असमर्थ रहेको जानकारी गराउनुभएको थियो । तर, संघका अध्यक्ष गुप्ता हेटौँडा–१० मा स्कुटरको शोरुम उद्घाटन कार्यक्रममा पुग्नुहुँदा नगरप्रमुख लामालाई पनि त्यहीँ भेट्नुभयो ।
आम व्यवसायीले आफ्ना समस्याको विषयमा ध्यानाकर्षण गराउन नगरप्रमुखको कार्यकक्षमै भेट्न खोज्दा स्वास्थ्यका कारण समय दिन नसक्ने बताउनुभएकी नगरप्रमुख लामा शोरुम उद्घाटन समारोहमा रिवन काट्न भने पुग्नुभयो । कार्यक्रमस्थलमा संघका अध्यक्ष गुप्ता र नगरप्रमुख लामाबीच केही छलफल भने भइरहेको थियो । तर, उहाँहरु बीच व्यवसायीको समस्याका विषयमा गम्भीर छलफल भने भइरहेको थिएन । यस्सै सामान्य कुराकानी मात्रै भइरहेको थियो ।
उपमहानगरले व्यवसायीमाथि राजश्ववृद्धि र घरभाडादर वृद्धि गरी दोहोरो मार पारिरहेका बेला तिनै व्यवसायीले नगरप्रमुखलाई बोलाएर शोरुम उद्घाटन गर्नुलाई पनि आश्चर्यको विषय मान्न सकिन्छ, विरोध गर्ने, स्वागत र सम्मान पनि गर्ने । हेटौँडा उपमहानगरपालिकाको राजश्व परामर्श समितिमा मकवानपुर उद्योग वाणिज्य संघको संस्थागत प्रतिनिधित्व समेत रहने व्यवस्था छ । उपमहानगरको राजश्व परामर्श समितिको छलफलमा राजश्व नबढाउने भन्ने भए पनि उपमहानगरले राजश्व बढाएको मकवानपुर उद्योग वाणिज्य संघको आरोप छ । स्कुटरको शोरुम उद्घाटन कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष प्रमोदसिंह रानाभाटको उपस्थिति रहेको थियो ।