राजश्व र भाडादर वृद्धिप्रति असन्तुष्टि जनाउँदै व्यवसायीले सामाजिक सञ्जाल फेसबुकमा राखेको पोष्ट ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले राजश्व असुलीको दर बढाउने उद्देश्यले हेटौँडाको घरभाडादरमा सतप्रतिशतले वृद्धि गरेको पाइएको छ । उपमहानगरपालिकाले १२० वर्गफिट क्षेत्रफललाई आधार बनाएर भाडादर निर्धारण गरेको छ । गत आर्थिक वर्षमा हेटौँडा–४ को गरुडपथको घरभाडाको दर पाँच हजार कायम गरेको हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि १० हजार रुपैयाँ तोकेको छ ।

गत आर्थिक वर्षमा न्यूनतम् दुई हजार रुपैयाँदेखि अधिकतम् सात हजार रुपैयाँसम्म घरभाडा दर निर्धारण गरेको उपमहानगरले चालु आर्थिक वर्षका लागि न्यूनतम् तीन हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म भाडादर निर्धारण गरेको छ । हेटौँडा उपमहानगरपालिकाले ए देखि एफ सम्म ६ वटा वर्गमा विभाजन गरेर हेटौँडा उपमहानगरका ग्रामीणदेखि बजार क्षेत्रको घरभाडादर निर्धारण गरेको छ । गत वर्ष सी वर्गमा रहेको गरुडपथको भाडादर मासिक पाँच हजार रुपैयाँ तोकिएको थियो । चालु आर्थिक वर्षमा भने गरुडपथलाई ए वर्गमा समावेश गरेर भाडादर १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

आर्थिक मन्दी, खुम्चिएको व्यापारका बीच व्यवसायी समस्यामा भइरहेका बेला स्थानीय सरकारले घरभाडादरमा गरेको अस्वभाविक वृद्धिले व्यवसायी चिन्तित छन् । व्यवसाय करको दर पनि बढाउने, भाडा दर पनि बढाउने अवस्थाले व्यवसायी समस्यामा पर्ने व्यवसायीको भनाइ छ । हेटौँडा उपमहानगरपालिकाले गत वर्ष पनि घरभाडादरमा वृद्धि गरेको थियो । अघिल्लो आर्थिक वर्षमा दुई हजार रुपैयाँदेखि छ हजार रुपैयाँसम्म रहेको घरभाडादरलाई गत आर्थिक वर्षमा दुई हजार रुपैयाँदेखि सात हजार रुपैयाँसम्म कायम गरिएको थियो ।