रक्तदान गर्दै रक्तदाता ।फाइल तस्वीर ।

हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडाले आर्थिक वर्ष २०८०/०८१ मा करिब ४ हजार युनिट रगत वितरण गरेको छ । रक्तसञ्चार केन्द्रले गत वर्ष ३ हजार ९ सय ६७ युनिट रगत वितरण गरेको हो ।

केन्द्रले मकवानपुर जिल्लामा मात्र नभई बाहिरका जिल्लाहरुमा समेत रगत वितरण गर्दै आएको छ । केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/०८१ को साउन महिनामा केन्द्रले ४ सय ८३ युनिट रगत वितरण गरेको थियो । यस्तै, भदौ महिनामा ३ सय ८२ युनिट र असोज महिनामा ३ सय २० युनिट रगत वितरण गरेको हो ।

कार्तिक महिनामा २ सय ७१ युनिट, मंसिर महिनामा २ सय ७० युनिट र पुस महिनामा ३ सय ५ युनिट रगत वितरण गरेको केन्द्रको तथ्याङ्क छ । माघ महिनामा २ सय ६८ युनिट र फागुन महिनामा २ सय ९२ युनिट रगत वितरण गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । यस्तै, चैत महिनामा २ सय ७२ युनिट र बैशाख महिनामा ३ सय १६ युनिट रगत वितरण गरेको केन्द्रले जेठ र असार महिनामा क्रमशः ३ सय ६७ युनिट र ४ सय २१ युनिट रगत वितरण गरेको छ ।

विभिन्न संघसंस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमबाट केन्द्रले ३ हजार ६ सय २५ युनिट रगत संकलन गरेको छ । गत आर्थिक वर्ष आयोजना भएको एकसय १३ वटा रक्तदान कार्यक्रमबाट रक्तसञ्चार केन्द्रले ६ सय १३ जना महिला र ३ हजार १२ जना पुरुषको रगत संकलन गरेको हो ।

केन्द्रको तथ्याङ्कअनुसार साउन महिनामा ४ सय ३५ युनिट, भदौ महिनामा २ सय ३९ युनिट र असोज महिनामा ३ सय ४९ युनिट रगत संकलन भएको थियो । कार्तिक महिनामा एकसय ५७ युनिट, मंसिर महिनामा २ सय ३१ युनिट र पुस महिनामा २ सय ३९ युनिट रगत केन्द्रमा संकलन भएको प्राविधिक सापकोटाले जानकारी दिनुभयो ।

माघ महिनामा २ सय ५९ युनिट र फागुन महिनामा २ सय २४ युनिट रगत संकलन भएको थियो । चैत महिनामा २ सय ८४ युनिट, बैशाख महिनामा ४ सय ६८ युनिट, जेठ महिनामा ३ सय ८७ युनिट र असार महिनामा ३ सय ५३ युनिट रगत संकलन गरिएको सापकोटाले बताउनुभयो ।

एक वर्षभित्र ३ सय ५३ जना रक्तदाताले केन्द्रमै पुगेर रक्तदान गरेका छन् । केन्द्रको तथ्याङ्कअनुसार केन्द्रले गत आर्थिक वर्षमा ३ सय ५२ युनिट सेतो रगत बनाएको छ । प्राविधिक सापकोटाका अनुसार केन्द्रले एक वर्षमा ५ सय पोका रगत सिराहको लहान पठाएको छ । रक्तसञ्चार केन्द्रको इमर्जेसी रक्तदाताको सूचीमा एकसय ५० जनाभन्दा बढि रहेका छन् ।