प्रदेश सभामा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामा ।

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले माओवादीले आफूलाई विश्वासको मत दिनुपर्ने बताउनुभएको छ । प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै मुख्यमन्त्री लामाले विगतमा कांग्रेस प्रतिपक्षमा रहेर तत्कालिन शालिकराम जम्कट्टेललाई मत दिएको उल्लेख गर्नुभयो ।

विगतमा मत हालेको आधारमा माओवादीलाई विश्वासको मत पैँचो बाँकी रहेको उहाँले बताउनुभयो । पैँचो फिर्ता हुुन्छ भन्ने आफूले विश्वस्त लिएको मुख्यमन्त्री लामाको भनाई छ । माओवादीले आफूलाई विश्वासको मत नदिए ब्याज लाग्ने उहाँले बताउनुभयो । उहाँले विश्वासको मत दिएर माओवादीले पैँचो फिर्ता गर्ने बताउनुभयो ।

वर्तमान सरकारले राजनीतिक स्थिरता र व्यवस्थालाई बलियो बनाउन काम गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । सरकारका मन्त्रीहरुलाई अधिकतम समय हेटौँडामा रहेर काम गर्न निर्देशित गरेको उहाँको भनाई छ । संघीयता बलियो बनाउन संविधानको कार्यान्वयनका लागि संघीय सरकारसँग पहल गर्ने लामाले बताउनुभयो । समस्याका विषयहरुमा छलफल गरेर प्रदेशको विकास र समृद्धिका लागि सबै दलहरुसँग सहकार्य गर्ने मुख्यमन्त्री लामाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।