हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज मंगलबार प्रदेश सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । साउन ८ मा मुख्यमन्त्री नियुक्त हुनुभएका लामाले कांग्रेस–एमाले गठबन्धन प्रदेश सरकारको नेतृत्व गरिरहनुभएको छ । साउन ८ मा मुख्यमन्त्री नियुक्त हुनुभएका उहाँले ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ ।
मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो । सरकारलाई पूर्णता दिए लगत्तै मुख्यमन्त्री लामाले सरकार सुरक्षित गर्ने उद्देश्य अनुसार प्रदेश सभाबाट विश्वासको मत लिने निर्णय गर्नुभएको हो । उहाँको निर्णय अनुसार प्रदेशसभा बैठक आव्हानका लागि प्रदेशसभा सचिवालय हटौँडामा पत्राचार गर्नुभएको थियो ।
सोही अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज (मंगलबार) का लागि प्रदेशसभा बैठक आव्हान गर्नुभएको छ । आज दिउँसो ३ बजेका लागि आव्हान भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफलसहित निर्णय हुनेछ । सचिवालयका अनुसार बैठकको सुरुवातमा मख्यमन्त्री लामाले आफ्नो धारणासहित विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुहुनेछ भने सो पश्चात दलगत रुपमा मुख्यमन्त्री लामाको विश्वासको मतसम्बन्धी प्रस्ताव माथि नेताहरुले धारणा राख्नेछन् ।
दलगत रुपमा प्रदेश सभा सदस्यहरुको धारणा राखेसँगै मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन गर्ने प्रदेश सभाको कार्यसूचि रहेको छ । हस्ताक्षर सहितको मत विभाजनमा प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्ष, विपक्ष वा तथस्टमा मत दिने सचिवालयले जनाएको छ । मुख्यमन्त्री लामाले आफूलाई विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न माओवादी केन्द्र सहितका विपक्षी दलहरुलाई आग्रह गर्नुभएको छ । लिखितरुपमा सबै दलहरुलाई पत्राचार गरेर उहाँले आफूलाई विश्वासको मत दिन विपक्षी दलहरुलाई आग्रह गर्नुभएको छ ।
उहाँले माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, राप्रपाका संसदीय दलका नेता उद्धव थापा, नेमकिपाका संसदीय दलका नेता सुरेन्द्रराज गोसाई, हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यसँग विश्वासको मत माग्दै पत्र पठाउनभुएको छ । साउन १२ मा एक विना विभागीय मन्त्रीसहित सरकारलाई पूर्णता दिनुभएका मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ प्रदेश सभा सदस्य गरी ६४ जनाको समर्थन रहेको छ । पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिएका उहाँले एमालेका ६ र कांग्रेसका ८ जनालाई मन्त्री नियुक्त गर्नुभएको छ ।