डाक्टरलाई थप जिम्मेवारी प्रदान गरिँदैको तस्वीर ।

हेटौँडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालमा विभिन्न विभागमा कार्यरत ११ जना विशेषज्ञ चिकित्सकहरुलाई थप जिम्मेवारी प्रदान गरिएको छ । ११ जना विशेषज्ञ चिकित्सकहरुले प्रतिष्ठानमा स्नात्तकोत्तर तह (एमडी) अध्यक्ष पूरा गर्ने डाक्टरहरुलाई सहयोग गर्ने सहप्राध्यापक र लेक्चररको थप जिम्मेवारी पाउनुभएको हो ।

प्रतिष्ठानले हेटौँडा अस्पतालका ४ जना डाक्टरहरुलाई सह–प्राध्यापक र ७ जना डाक्टरलाई लेक्चररको जिम्मेवारी दिएको हो । अस्पतालबाट सह–प्राध्यापकमा ११ औं तहका बाल स्वास्थ्य विशेषज्ञ डा. हरिबहादुर खड्का र डा. राजु सेढाईं, स्त्री तथा प्रसुती स्वास्थ्य विशेषज्ञ डा. राघवेन्द्र ठाकुर र एनेस्थेसिया विशेषज्ञ डा. सुवासबाबु लामिछानेलाई सह–प्राध्यापकको जिम्मेवारी दिइएको छ ।

यस्तै, नवौं तहका एनेस्थेसिया डा. प्रशान्त बिडारी, डा. ईश्वर सिलवाल र डा. सतिश बिजुक्छे, सर्जरीतर्फ डा. निराजन श्रेष्ठ र डा. प्रकाश शाह, स्त्रीरोग विशेषज्ञ डा. बिदुर भण्डारी र रेडियोलोजिष्ट डा. सुयोग्य वाग्लेले लेक्चररको जिम्मेवारी पाउनुभएको छ । एमडी कोर्स तीन वर्षको हुनेछ । प्रतिष्ठानले एक जना सर्जरी, एक जना स्त्री तथा प्रसुती स्वास्थ्य र एक जना एमडीका सामान्य चिकित्सा गरी ३ जना प्राध्यापकको लागि विज्ञापन आह्वान गरेको छ ।