माओवादीमा प्रवेश पश्चात तस्वीर खिचाउँदै ।

हेटौँडाः मकवानपुर जिल्लाभित्रका विभिन्न राजनीतिक दलका दर्जनौं नेतासहित ६० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच मकवानपुरका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेको पार्टी केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्जार्च विजय गौतमले जानकारी दिनुभयो ।

नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका विभिन्न दलका गरी ६० जनाभन्दा बढी पार्टी प्रवेश गरेको इन्चार्ज गौतमले बताउनुभयो । सबैलाई पार्टी केन्द्रीय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वागत गर्नुभएको छ । पार्टी प्रवेश गर्नेहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको मकवानपुर जिल्ला सचिवालय सदस्य भुवन खनाल, रास्वपा मकवानपुर क्षेत्र नम्बर १ का उपसभापति जगदिश दाहाल, रास्वपा हेटौँडा–१७ का वडा सभापति विकास श्रेष्ठ र सदस्य राजु माझी रहेका छन् ।

यस्तै, कांग्रेस परित्याग गरी सुभाष लामिछाने, राजकुमार तामाङ, नेपाली काँग्रेस निकट व्यवसायी विनोद न्यौपाने र निर्माण सामग्री व्यवसायी संघ जिल्ला कोषाध्यक्ष उद्धव देवकोटा, नेकपा एमाले निकट खेलकुद महासंघ बागमती प्रदेश सदस्य किशोर श्रेष्ठ, स्वतन्त्र युवाहरु विश्व गौतम र रोहित रिजाल पनि माओवादीमा प्रवेश गरेका छन् ।

इन्चार्ज गौतमले मकवानपुरमा अहिले माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को लागेको दावी गर्नुभएको छ । पछिल्लो समयमा पार्टीले सुशासन र न्यायका पक्षमा काम गरेकाले पार्टीप्रति अहिले धेरै जना आकर्षित हुन थालेको उहाँको भनाइ छ । उहाँले पार्टी मिसन २०८४ मा एक्लै चुनाव लड्ने गरी अगाडि बढ्ने पनि बताउनुभयो । पार्टी प्रवेश कार्यक्रममा मकवानपुरका शीर्ष तहका माओवादीका नेताहरुसमेत पुगेका थिए ।