केन्द्रको उद्घाटन गर्नु हुँदै नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँ

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ७ मा ज्येष्ठ नागरिक मिलन केन्द्रको उद्घाटन गरिएको छ । शुक्रबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले भवनको उद्घाटन गर्नुभएको हो ।

ज्येष्ठ नागरिकमैत्री नगर निर्माणको लक्ष्यअनुसार तयार पारिएको ४ कोठे भवनमा करिब ५० जनाको क्षमता रहेको वडा अध्यक्ष दामोदर गौतमले जानकारी दिनुभयोे । ५० लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकका लागि सुविधायुक्त भवन ४ कठ्ठा जमिनमा निर्माण भएको हो । गौतमका अनुसार स्थानीय बलबहादुर तामाङले धेरै वर्ष अगाडि एक कठ्ठा जमिन वडालाई दान गर्नुभएको थियो । उक्त कार्यक्रममा तामाङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा नगर प्रमुख लामाले हालै तयार भएको भवनको थप भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।