देवप्रसाद श्रेष्ठ ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकाको एकीकरण गर्नु भन्दा अगाडि उपत्यका भित्र काठमाडौं (येँ), ललितपुर (यल) भक्तपुर (ख्वप), धुलिखेल (भोट) लगायतका नेवारबस्तीका राज्य नेपाल मण्डल राज्य थियोे । नेपाल मण्डल राज्य उत्तरमा पाँचखाल र दक्षिणमा मकवानपुरसम्म फैलिएको थियो । उपत्यका भित्रका सम्पूर्ण नेवारी नामका बस्तीहरु (साँगा, पाँगा, नाला, चीलं, कीपु) नेवारी बस्तीका गाउँ–बस्तीहरु नेपाल मण्डल राज्यभित्र समाहित थिए ।

नेवार एउटा राज्य र राष्ट्र थियो । काम जात र पेसा अनुसार यहाँका जनताहरुको वर्गीकरण गरिएको थियो । तात्कालिन समयको नेपाल मण्डल नेवार राज्य साँस्कृतिक धार्मिक र आर्थिक रुपले सम्पन्न र उत्कृष्ट थियोे । हरेक जात जाति र समूहमा आफ्नो कला, साहित्य र संस्कृति जोगाउन गुठीहरु बनाएका थिए । आफ्नो समुहको गूठीलाई सवल र सक्षम बनाउन गूठी भित्रका सबै गुठियारहरु सवल र सक्रिय थिए ।

पृथ्वीनारायण शाहले उपत्यका एकीकरण गरिसकेपछि विभिन्न कालखण्डमा काठमाडौं उपत्यका भित्रका नेवारहरु देश निकालादेखि जागीरको सिलसिलामा उपत्यका बाहिरको गाउँ, बस्ती र जिल्ला जिल्लामा गएर बसोबास गर्न थाले । उपत्यका भित्र चारभज्याङ भित्र भने पृथ्वीनारायणका सैनिकहरुदेखि बाहिरका अरु जातिका मानिसहरू पनि बसोबास गर्न थाले । यसरी नेवार समुदाय मात्र बसोबास रहेको ठाउँमा बाहिरबाट आएका विभिन्न जात–जातिका मानिस बस्न थालेपछिको अतिक्रमणले नेवारहरुको संख्या कम हुँदै गयो । रैथाने आदिवासी नेवारहरु नेपाल मण्डलबाट विस्थापित हुनेक्रम यहीँबाट सुरु भयो ।

उपत्यकासँग नजिक रहेको मकवानपुरको टिस्टुङ–पालुङ, चित्लाङ, बज्रबाराही आदि बस्तीहरु नेपाल मण्डलको पुरानै बस्तीहरु हुन् भने भीमफेदीमा भने अधिकांश पाटनतिरबाट आएका नेवारहरुको बाहुल्यता थियो । आज भन्दा ७०, ८० बर्ष पहिलेको भीमफेदीको नेवारी कला र संस्कृति उपत्यकाको नेवारी सभ्यता भन्दा फरक थिएन । बज्रबाराही, पालुङ, टिस्टुङमा आ–आफ्नै विशेषताका मेला, पर्व र जात्राहरु हुन्थे । गूठी वा नेवार समुदायले गर्ने अधिकांश पर्वहरु अद्यापी कायमै छन् । उपत्यका भित्र आउ–जाउ गर्ने पुरानो नाका चिसापानी ईलाकाको पुरानो बजार भीमफेदी मकवानपुर जिल्लाको पुरानो सदरमुकाममा भने २०११ सालको बाढीपहिरोले ठूलो क्षति पु¥याएपछि गाँस, बास र रोजगारीका लागि भीमफेदी भैँसेका नेवारहरु हेटौँडातिर सर्न थाले ।

२०११ सालको बाढी पूर्व हेटौँडाका सडक छेउछाउको १०, १५ घरहरु बाहेक सुनसानै थियो । चारैतिर जंगलै–जंगल थियो । बाढी पहिरोबाट विस्थापित नेवारहरु मूल बाटोको दायाँबायाँ बसाई सरेर बस्न थालेपछि विस्तारै हेटौँडाको चहलपहल बढ्न थाल्यो । हेटौँडाबाट नारायणघाट, पूर्वबाट मकवानपुरगढी, टिकाभैरब हुँदै काठमाडौं र भैँसे हुँदै काठमाडौंको बाटो त्रिभुवन लोकपथ बन्न थालेपछि हेटौँडाको बस्ती विस्तार हुन थाल्यो । जंगल फँडानी र बस्ती विकास हुन थालेपछि उपत्यकाका तीनै शहरका नेवार र अन्यत्र शहरबाट पनि विविध जात र थरका मानिसहरु हेटौँडामा बस्न थाले । पृथ्वीनारायण शाहले उपत्यका विजयपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विस्थापित भएका नेवार हरुले जुन–जुन ठाउँमा बसे त्यो स्थानमा आफ्नो कला, संस्कृति र परम्परालाई कायमै गरी मन्दिर, स्तुपाहरु निर्माण गरी कला र सभ्यतालाई कायमै गरी आफ्नो जाति र परम्परालाई मर्यादित बनाएर पहिचान दिँदै आएको छ । यसैगरी हेटौँडामा बसाइँसराई गरेर खासगरी उपत्यका, मकवानपुरका रैथाने भीमफेदी भैंसे र छिटफुट अन्य जिल्ला र ठाउँका नेवारहरुको संगम बस्तीको थलो हेटौँडा बन्यो ।

नेवारहरु जातीय रूपमा व्यापार, खेतिपाती र समाजको अन्य व्यवसायमा संलग्न भएको अरु जाति र समूहसँग पनि हेलमेल हुनु दैनन्दिनको काममा परिवार बाहेक अन्य भाषाभाषीहरुसँग हेलमेल गर्दा अन्य भाषा बोल्नु पर्ने बाध्यताले मातृभाषाको बोली बिर्सने मात्र होईन थोरै जनसंख्या भएको ठाउँमा नेवारी भाषा नै लोप भैसकेको छ । तत्कालिन पंचायती शासन कालमा खस भाषा बाहेक अन्य भाषाभाषी माथि निर्मम दमन गरेको थियो । बोली मात्र होइन जातीय लवज आउनेसम्मलाई सरकारी जागीरमा निषेध गरिएको थियो । जाति र भाषा दमनको कारण अधिकांश नेवारहरुले घरभित्र बोलिने आफ्नो नेवारी भाषा बोल्न समेत सिकाएन । फलस्वरुप अहिले हाम्रा दोस्रो र तेस्रो पिढीका धेरै नेवारहरु आफ्नो भाषा बोल्न जान्दैनन् । यो बडो दुखको कुरा हो ।

गणतन्त्र आएपछि भने सबै मातृभाषालाई मान्यता दिएको छ । हेटौँडामा विभिन्न जात र समुदायका नेवारहरुले आआफ्नो समुदायमा कला र संस्कृतिलाई जोगाउन खलः पुचः गूठी निर्माण गरेको छ । संस्थागतरूपमा हेटौँडामा स्थापना भएको पहिलो संस्था नेपाल भाषा खलः हो । यो संस्थाले हेटौँडाका नेवारहरुलाई समातेर नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत् मनाउन हरेक बर्ष कार्तिक शुक्ल प्रतिपदा न्हु दंका दिन ¥याली र जूलूस गर्दै आएको छ । त्यसपछि जन्मेको नेवाः साँस्कृतिक पुचःले नेवारहरुले चलाउँदै आएको हरेक चाडपर्वहरु मनाउँदै आएको छ । यसको साथै भाषा उत्थानकाँ लागि लिपि कक्षा र बाजा प्रशिक्षण पनि दिँदै आएको छ । विभिन्न जाति र समुदायमा संगठित संस्थाहरुलाई एकजुट र मजबुत बनाउन नेवाः गूठीको पनि संस्थागत रूपमा जन्म भएको छ । नेवारहरुको कला, संस्कृति, सभ्यता, भाषा र लिपि नेपालकै राष्ट्रिय गौरवको सम्पदा हो । यसलाई बचाउनु राष्ट्रिय सम्पदालाई बचाउनु हो ।

विगतका दिनमा नेवारी संस्कृति, भेषभुषा र बाजा र कलालाई हेटौँडाका जनताका सामु प्रदर्शन र परिचय गराउन तात्कालिन सांसद तथा वरिष्ठ परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको नेतृत्वमा ठिमीको प्रसिद्ध महाकाली नाच, लाखे नाचहरु काठमाडौंको अर्केस्ट्रा १०८ थरीका बाजाहरुको कलाकारहरुले एकसाथ प्रदर्शन गरेको थियोे । भाषा, संस्कृति र कलालाई जीवन्त राख्न उपत्यकाबाट कलासाधकहरुलाई निम्त्याएर बेला–बेलामा प्रदर्शन गर्ने, नेवारी भोज खुवाउने आदि क्रियाकलाप पनि गर्दै आएको थियोे । उपत्यका बाहिर पहिलो पटक हेटौंडा मै देशभरिका नेवाः मिसा समुहको प्रतिनिधित्ब गराई राष्ट्रिय नेवाः मिसा सम्मेलन गराएको थियो । भाषालाई संरक्षण गर्न उपत्यका बाहिर पहिलो पटक हेटौँडा वाः पौको निरन्तर प्रकाशन गरेको थियोे । दीपक प्रसाद श्रेष्ठको सम्पादन र प्रकाशन भएको उक्त साप्ताहिक हिरण्यलाल श्रेष्ठको संरक्षण र काठमाडौंका सुरेश किरण मानन्धर र हेटौँडाका जनक श्रेष्ठले सघाएको थियोे । पछि उक्त पत्रिका मोहनमान सांगामी र जनक श्रेष्ठ ले जीवन्तता दिँदै आएपनि विगत दुई बर्षदेखि बन्द भएको छ । नेवारहरुको कला, संस्कृति र सभ्यता राम्रो छ । तर बाहिर छरिएर आआफ्नो संस्थामा आबद्ध भएपनि एक अर्को संस्थाप्रति समन्वय छैन ।

नेवा देय दबु नेवार समुदायका विभिन्न समुदायहरुलाई समन्वय गर्ने छाता संगठन हो । नेवा गूठीको उद्देश्य र भावना पनि सबै नेवार समुदायबीच एकताको अभिबृद्धि गराई कला र संस्कृतिलाई जोगाउनु नै हो । भाषा नरहे देस रहन्न । कला र संस्कृति नरहे हामी रहनौं । हामीले हाम्रा पुर्खाले बनाएको कला, संस्कृति, परम्परा, भेषभुषा र भाषालाई संरक्षण गर्नै पर्छ । उपत्यकामा समेत केही सभ्रान्त वर्गहरुले आफ्नो मातृभाषा बोल्न बिर्सिसकेका छन् । संयुक्त रास्ट्र संघमा नेपाल भाषाको रञ्जना लिपिलाई नेपालको राष्ट्रिय लिपिमा दर्ता गरेको छ ।

हामीले हाम्रो गौरवमय इतिहास बोकेको नेवारी कला, संस्कृति र सभ्यतालाई बचाउन र भाषालाई जिवन्त राख्न हामी एकजुट हुनैपर्छ । हाम्रो सभ्यता र संस्कृति हाम्रो मात्र होईन नेपाल कै सम्पदा हो । हाम्रा अग्रजहरु शताब्दी पुरुष सत्यमोहन जोशी लोकप्रिय कवि दुर्गालाल श्रेष्ठ भाषा अभियानकर्ता तथा मानव अधिकारवादी नेता पदमरत्न तुलाधरहरुको अनुकरण गर्ने कि नगर्ने ? इतिहास बोकेको नेवारी कला, संस्कृति, सभ्यता र भाषाको संरक्षण गरौं ।