हेटौंडाः माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) २०८० को ग्रेडवृद्धि परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन हुँदैछ । हेटौंडा उपमहानगरपालिकाले ग्रेडवृद्धि (मौका) परीक्षाका लागि ५ वटा विद्यालयमा तयारी कक्षा सञ्चालन गरिरहेको छ । पालिकाले तोकेको ५ वटै विद्यालयमा तीव्र गतिमा परीक्षाको तयारी भइरहेको छ ।
हेटौंडा उपमहानगरअन्तर्गतका विद्यालयबाट एसईईमा एनजी ल्याएका विद्यार्थीका लागि साउन २ गतेदेखि २० गतेसम्म निःशुल्क कक्षा सञ्चालन भएको हो । हेटौंडा उपमहानगरपालिका–३ स्थित महेन्द्रकिरण माध्यमिक विद्यालयले दैनिक ३५ जना विद्यार्थीलाई परीक्षाको तयारी गराइरहेको छ । महेन्द्रकिरण माविमा त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीसमेत अतिरिक्त कक्षा लिन जाने गरेको विद्यालयकी प्रधानाध्यापक तारा गौतमले जानकारी दिनुभयो । विद्यालयले गणित, विज्ञान, अंग्रेजी, अतिरिक्त गणित र अर्थशास्त्र विषयको तयारी कक्षा सञ्चालन गरिरहेको छ ।
हेटौंडा उपमहानगरपालिका–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयले करिब ३० जना विद्यार्थीलाई अध्यापन गरिरहेको छ । भूटनदेवी माविबाट विद्यार्थीहरुले गणित, विज्ञान, अंग्रेजी, नेपाली र सामाजिक विषयको निःशुल्क कक्षा लिइरहेका विद्यालयका सहायक प्रधानाध्यापक भरत पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले बालजागृति इङ्गलिस सेकेण्डरी स्कूल, सत्यम् जेभियर्स, चन्द्रोदय माध्यमिक विद्यालय, नवज्योति माध्यमिक विद्यालयका विद्यार्थीसँगै नगर बाहिरका विद्यार्थीलाई समेत अध्यापन गराइरहेको छ । भूटनदेवी माविमा चितवन जिल्लाका २ जना विद्यार्थीले पनि निःशुल्क कक्षा लिइरहेका छन् ।
हेटौंडा उपमहानगरपालिका–१३ स्थित महेन्द्र माध्यमिक विद्यालयले ६७ जना विद्यार्थीलाई निःशुल्क कक्षा सञ्चालन गरिरहेको छ । विद्यालयले २५ जना विद्यार्थीलाई गणित, ९ जना विद्यार्थीलाई अंग्रेजी, ११ जना विद्यार्थीलाई सामाजिक र २२ जना विद्यार्थीलाई विज्ञान विषयमा तयारी कक्षा चलाइरहेको छ । महेन्द्र माविमा सनराइज इङ्गलिस बोर्डिङ स्कूल, श्रमिक माध्यमिक विद्यालय र बुद्ध माध्यमिक विद्यालयका विद्यार्थी मौका परीक्षाका लागि अध्ययन गरिरहेका छन् ।
हेटौंडा उपमहानगरपालिका–१६ स्थित जनप्रिय माध्यमिक विद्यालयले करिब सय जना विद्यार्थीलाई ७ वटै विषय अध्यापन गराइरहेको छ । जनप्रिय माविमा त्रिभुवन मावि, बालबोध मावि, गोरक्षनाथ मावि, चुरियामाई मावि तथा आसपासका विद्यार्थीहरु निःशुल्क कक्षा लिइरहेका छन् । विद्यालयले गणित र विज्ञानको ३–३ समूह र अरु विषयको एउटा समूह बनाई अध्यापन गराइरहेको छ ।
हेटौंडा उपमहानगारपालिका–९ स्थित प्रगति माध्यमिक विद्यालयमा करिब ४५ जना विद्यार्थी मौका परीक्षाको लागि तयारी गरिरहेका छन् । विद्यालयले नेपालीबाहेक सबै अनिवार्य विषय अध्यापन गराइरहेको छ । प्रगति माविमा हेटौंडा मोर्डन इङ्गलिस सेकेण्डरी बोर्डिङ स्कूल, जनजागृति मावि, जनज्योति मावि, कृष्ण आदर्श, श्रमिक मावि र चन्द्रोदय माविका विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालयमा २ जना विद्यार्थी नगर बाहिरका रहेको विद्यालयका प्रधानाध्यापक निरञ्जन ढकालले जानकारी दिनुभयो ।
५ वटै विद्यालयमा दैनिक विद्यार्थी उपस्थित भइरहेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षाका लागि मकवानपुर जिल्लामा ८ वटा परीक्षा केन्द्र तोकिएको छ । साउन २३ गतेदेखि ३१ गतेसम्म हुने ग्रेडवृद्धि (मौका) परीक्षाको लागि जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ५ वटा, थाहा नगरपालिका, बकैया गाउँपालिका र मनहरी गाउँपालिकमा एक–एक वटा परीक्षा केन्द्र तोकिएको हो ।
श्रमिक माध्यमिक विद्यालयबाट १६ वटा विद्यालयका ३ सय ३८ जना विद्यार्थीले मौका परीक्षा दिनेछन् । सिद्धार्थ माध्यमिक विद्यालयबाट १५ वटा विद्यालयका ३ सय ३९ जना र प्राविधिक तर्पm १० वटा विद्यालयका एकसय ९८ जना विद्यार्थीले परीक्षा दिनेछन् । भूटनदेवी माध्यमिक विद्यालयबाट १६ वटा विद्यालयका ४ सय ८४ जना विद्यार्थी, बालजागृति इङ्गलिस बोर्डिङ स्कूलबाट १३ वटा विद्यालयका ३ सय ३० जना र आधुनिक राष्ट्रिय माविबाट २५ वटा विद्यालयका ६ सय २५ जना विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिनेछन् ।