हेटौँडाः १९ औं संस्करणको राष्ट्रिय जुडो प्रतियोगितामा दोस्रो हुने बागमती प्रदेशका खेलाडीहरुलाई सम्मान गरिएको छ । नेपाल जुडो महासंघको आयोजनामा भएको प्रतियोगितामा दोस्रो हुन सफल भएको बागमती प्रदेशका खेलाडीहरुलाई सम्मान गरिएको हो ।
बागमती प्रदेश जुडो संघले काठमाडौं महानगरपालिकाको दशरथ रंगशालास्थित जुडो कभर्ड हलमा एक कार्यक्रमबीच प्रदेशबाट सहभागी हुने १८ जनामध्ये पदक प्राप्त गर्न सफल ८ जना खेलाडीहरुलाई नगद र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेको छ । प्रदेशको प्रतिनिधित्व गरेर प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई ५ हजार रुपैयाँ, २ हजार रुपैयाँ र १ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई पनि सम्मानपत्र प्रदान गरिएको छ । प्रदेशबाट सहभागी भएर महिलातर्फ निशा श्रेष्ठ, देवकीमाया श्रेष्ठ र रञ्जना खड्का प्रथम भएका छन् भने रेखा श्रेष्ठ र सुनिल नगरकोटी द्वितीय भएका हुन् । यस्तै, मनोज आचार्य, आकाश आले मगर र रामभक्त तामाङ तृतीय भएका छन् ।
३ दिनसम्म सञ्चालन भएर सम्पन्न भएको राष्ट्रिय जुडो प्रतियोगितामा बागमतीसहित ७ प्रदेश र ३ वटा विभागीय टोली गरी १० वटा टिमको सहभागिता रहेको थियो । ं७ प्रदेशमध्ये बागमतीले दोस्रो स्थान हासिल गर्न सफल भएको हो । बागमतीले ३ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्यगरी ८ वटा पदक प्राप्त गर्दै द्वितीय हुन सफल भएको हो । उपविजेता बन्न सफल भएको बागमती प्रदेशको टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा टिम कोच आकृति जोशी हुनुहुन्थ्यो । प्रदेश खेलकुद विकास परिष्दका निवर्तमान सदस्यसचिव सूर्यलाल भण्डारीले पनि सम्मान कार्यक्रममा सहयोग गर्नुभएको छ ।
प्रदेश जुडो संघका अध्यक्ष मदन उप्रेतीको सभाध्यक्ष तथा जुडो संघका केन्द्रीय महासचिव प्रलोकचन्द्र पाण्डेको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष उप्रेतीले अन्य प्रदेशले खेलाडीहरुको प्रोत्साहनको काम नगरेकोमा बागमती प्रदेशले प्रोत्साहनको कामलाई प्राथमिकता दिएको बताउनुभयो । सबै खेलाडीहरुले टिम कोअर्डिनेशन गरेर खेल खेलेमा उत्कृष्ट नतिजा हासिल गर्न सफल हुने उहाँले बताउनुभयो । व्यक्तिहरुको इच्छाले मात्र नभई कुनै प्रतियोगितामा सहभागी हुने क्रममा टिमको इच्छा पनि हुनुपर्ने उहाँले बताउनुभयो । सम्मान कार्यक्रममा संघका प्रदेश सचिव राजीव प्रधानलगायत विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।