सुरक्षित आवासगृहको उद्घाटन गर्नुहुँदै मन्त्री कुमारी मोक्तान ।

हेटौँडाः हिंसा पीडित महिला तथा बालबालिकाको आपत्कालिन संरक्षणका लागि हेटौँडा–११, थानाभर्याङमा निर्माण गरिएको सुरक्षित आवासगृह (सेफ हाउस) को उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सुरक्षित आवासगृहको उद्घाटन गर्नु भएको हो ।

६५ लाख रुपैयाँ लागतमा आवासगृह तयार भएको हो । आवासगृह निर्माणका लागि सामाजिक विकास मन्त्रालयले ६५ लाख बजेट उपलब्ध गराएको थियो भने हेटौँडा उपमहानगरपालिकाले पर्खाल निर्माणका लागि १० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । उपभोक्ता समितिमार्फत निर्माण गरिएको दुई तल्लाको आवासगृहमा ५ वटा कोठा छन् । सुरक्षित आवासगृहमा बढीमा १२ जनालाई राख्न सक्ने क्षमता रहेको सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष देवकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

अहिले सुरक्षित आवासगृहमा २ जना महिलाहरु आश्रित छन् । सामाजिक विकास मन्त्रालयको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको समन्वयमा भवन उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरेको सभाध्यक्षता र सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्य रहेको थियोे । कार्यक्रममा वडा अध्यक्ष जुना दाहाल, हेटौँडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेको पनि उपस्थिति रहेको थियो ।