हेटौँडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४, सयपत्रीडाँडामा खानेपानी योजना सम्पन्न भएर उपभोक्तालाई खानेपानी वितरण कार्य सुरु गरिएको छ । सयपत्रीडाँडाका करिब एक सय घरधुरीलाई लक्षित गरेर सुरु गरिएको योजनाबाट मंगलबार बिहानदेखि खानेपानी वितरण कार्य सुरु गरिएको हो । खानेपानी योजना सुरु भएको झण्डै ५ वर्षपछि सम्पन्न भएको हो ।
सामरी सयपत्री खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत पालिकाले एक लाख लिटर क्षमताको ट्याङ्की निर्माण गरेर पाइपलाइन समेत विस्तार गरिसक्दा पानीको स्रोत व्यवस्थापन गर्न सकेको थिएन । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले सञ्चालन गरेको समरी समवेलको स्रोतबाट पानी संकलन गरी उपभोक्तालाई वितरण गर्न सुरु गरिएको हो । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको मकवानपुरगढी गाउँपालिकामै रहेको समवेल स्रोतबाट करिब २ सय ५० मिटर अग्लो स्थानमा रहेको ट्याङ्कीमा पानी चढाएर वितरणको व्यवस्था मिलाइएको छ । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले सयपत्रीडाँडाका लागि पानीको स्रोत उपलब्ध गराउनुका साथै योजना सम्पन्न गर्नका लागि पनि बोर्डले सहयोग गरेको हो ।
बोर्डको लागत सहभागितामा करिब १२ लाख रुपैयाँ खर्चेर समवेलको पानी लिफ्ट गरी सयपत्रीडाँडामा रहेको ट्याङ्कीमा चढाउने व्यवस्था मिलाइएको हो । गाउँपालिकाको ८ लाख रुपैयाँ र बोर्डको ४ लाख रुपैयाँ लागतमा योजनाको अन्तिम कार्य सम्पन्न गरिएको हो । आर्थिक बर्ष २०७६/७७ मा एक लाख लिटर क्षमताको ट्यांकी निर्माण गरिएको थियो भने आर्थिक वर्ष २०७८/७९ मै पाइपलाइन विस्तार गरिएको थियो । गत माघ महिनादेखि बोर्डको सहयोगमा खानेपानी योजना सम्पन्न गर्नेगरी कार्य सुरु गरिएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
योजना सम्पन्न गर्र्न बोर्डको सहयोग रहे पनि नियमित सञ्चालन र व्यवस्थापन भने उपभोक्ता समितिमार्फत नै हुनेछ । सामरी सयपत्री खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दिपेश कुमार थिङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दोर्जे स्याङ्तान लामाको प्रमुख आतिथ्यमा खानेपानी वितरणको कार्य सुरुवात गरिएको हो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाको पनि आतिथ्य रहेको थियो ।