हेटौंडाः बागमती प्रदेशको ४ जिल्लामा विभिन्न घटनामा एकैदिन ५ जना मृत्यु भएको छ । प्रदेशको चितवन, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लामा ५ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–२६, सिसवासस्थित नारायणी नदीमा एक जनाको शव फेला परेको छ । बिहीबार बिहान ८ बजेर १५ मिनेटको समयमा नामथर नखुलेको अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । नदीले बगाउँदै ल्याएको अवस्थामा प्रहरी टोली र स्थानीयले डुङ्गाको सहायताले शव नदीबाट बाहिर निकालिएको प्रहरीले जानकारी दिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी हुक्सीकोट गाउँपालिका–२ का ७६ वर्षीय बलबहादुर खाम्चा मगर रहेको प्रहरीले जानकारी दिएको छ ।
बुधबार मगर पिसाब थैलीको क्यान्सरको उपचारका लागि पुरानो मेडिकल कलेजमा ल्याई भर्ना गरी उपचार गरिरहेकोमा बिहीबार बिहान १० बजेर ४० मिनेटको समयमा अस्पतालकोे तेस्रो तलामाथिको झ्यालबाट खसेर गम्भिर घाइते भएका थिए । घाइते मगरको उपचारको क्रममा सोही दिन बिहान ११ बजेर ३० मिनेटको समयमा मृत्यु भएको थियो । अनुसन्धानको क्रममा मगरले आँखा नदेख्न पाइएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५, महादेबफाँटमा शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत जिल्ला पानधुरे घर भई हाल महादेबफाँट बस्दै आएका २७ वर्षीय अनिल थापा रहेको प्रहरीले जनाएको छ ।
बिहीबार स्थानीयको घर बाहिर रहेको शौचालयभित्र चुकुल लगाइरहेको अवस्थामा मानिस रहेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटेर शौचालयको जस्ताको छानो हटाई हेर्दा थापा अचेत अवस्थामा फेला परेका थिए । थापालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुली लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । अनुसन्धानका क्रममा थापाले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–६ स्थित गोसाइँस्थानमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा रोशी गाउँपालिका–४, लेम्बावेशी घर भई हाल बनेपा नगरपालिका–६, राममन्दिर बस्ने ३६ वर्षीय देवराज तामाङ रहेको प्रहरीले जनाएको छ । मुचुल्कापश्चात् शव पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका–११, सखरखण्डमा झुलुङ्गोबाट खसेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनपाटन गाउँपालिका–६, अर्मले घर भई सखरखण्ड बस्ने १० वर्षीया मिथिला चौहान रहेको प्रहरीले जनाएको छ । बिहीबार चौहान घरमा आफू सुत्ने कोठामा सारीको झोलुङ्गोबाट भुइँमा खसेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।