हेटौंडाः नेपाल भाषा खलः मकवानपुरको आयोजनामा हुन लागेको खुला कविता प्रतियोगितामा २० जना छनोट भएका छन् । लोककवि गणेशलाल श्रेष्ठको १ सय १३ औं जन्मजयन्तीको अवसरमा शनिबार हेटौंडामा हुन लागेको खुला कविता प्रतियोगितामा २० जना छनोट भएका हुन् ।
खलः मकवानपुरले फेसबुक पेजमार्फत् सूचना जारी गर्दै मकवानपुरसहित अन्य जिल्लाबाट कविहरु छनोट भएको जानकरी गराएको छ । छनोट हुनेमा मकवानपुरकी कृष्मा लौंडारी, स्वस्तिका बानियाँ, म्याग्दीकी आरती आचार्य, सिन्धुलीका बाबुराम श्रेष्ठ यात्री, मकवानपुरकी रोशनी चौलागाईँ, स्वस्तिका दहाल, सुधीर भद्र, सिन्धुली जिल्लाका रुपक जमरा, बैतडीका भूपि सरोवर, मकवानपुरकी रजनी अधिकारी, पोखराका गंगा सापकोटा, चितवनका शून्य नयन, मकवानपुरका बैकुण्ठ लामिछाने, अर्घाखाँची पूर्णिमा गिरी, मकवानपुरकी अनुसुया खनाल, चितवनका परिवेशन मुन्छे, काभ्रेपलाञ्चोकका अदीप अधिकारी, घादिङका राजु झल्लुप्रसाद, मकवानपुरका दीपक गौतम र योगेश घिमिरे रहेका छन् ।
प्रतियोगिताका लागि छनोट भएका २० जना कविहरुले शनिबार हेटौंडा–४ स्थित होटल लिडो इनमा कविता वाचन गर्नुपर्नेछ । भाषा खलःले हरेक वर्ष साउन ५ गते गणेशलाल श्रेष्ठको जन्मजयन्तीको अवसर पारेर कविता प्रतियोगिता आयोजना गर्ने गरेको संस्थाका अध्यक्ष महेश्वर श्रेष्ठले बताउनुभयो ।
यसअघिको प्रतियोगितामा जिल्लाभित्रका कविहरुलाई मात्र सहभागी गराउने गरेको संस्थाले यसवर्ष खुलारुपमा प्रतियोगिता आयोजना गरेर बाहिरी जिल्लाका कविहरुलाई पनि सहभागी गराएको उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागी हुनका लागि ५३ जना कविहरुले कविता पठाएका थिए । साहित्यकार अनिता न्यौपानेकोले नेतृवमा निर्णायकहरुले २० जनालाई छनोट गरेको उहाँले बताउनुभयो ।
कविता प्रतियोगिताकै अवसरमा लोककवि गणेशलाल श्रेष्ठ स्मृति साहित्य सम्मान २०८१ बाट मकवानपुरका साहित्यकार निमेष निखिललाई सम्मान गरिने भएको छ । साहित्य क्षेत्रमा दिएको योगदानको मूल्याङ्कन गर्दै साहित्यकार निखिललाई १५ हजार रुपैयाँ नगद राशि र सम्मानपत्र प्रदान गरिनेछ । यस्तै, बाल प्रतिभा साहित्य पुरस्कारबाट नवोदय शिशु सदनका अनुशा उप्रेतीलाई ३ हजार रुपैयाँ नगद राशि र सम्मानपत्रसहित सम्मानित गरिनेछ ।
यसअघि १० हजार रुपैयाँ नगद राशिको पुरस्कार रहेकोमा यसवर्षबाट ५ हजार रुपैयाँ रकम बढाइएको हो । गतवर्ष स्वर्गीय तुल्सी थापालाई सम्मान गरिएको थियो । आगामी वर्षबाट पुरस्कार राशि अझ बढाउन सकिने बताइएको छ । कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुलाइ क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ, ५ हजार रुपैयाँ र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ ।