कार्यक्रम पश्चात तस्वीर खिचाउँदै ।

हेटौँडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) २०८० मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच जिल्लाभित्रका विद्यालयबाट ३.६० जिपिएदेखि ४ जिपिए ल्याउन सफल भएका २ सय ५७ जना विद्यार्थीलाई सम्मान गरेको हो । प्याव्सन मकवानपुरले ४ जीपीए ल्याउने मकवानपुर जिल्लाकै एक मात्र विद्यार्थी रितिका छत्कुलीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको छ ।

प्याब्सनले संस्थागततर्फ एक सय ८९ जना र सामुदायिकतर्फका ६८ जना विद्यार्थीलाई सम्मान गरेको हो । जिल्लाबाट १ सय १० जना छात्रा र एक सय ४७ जना छात्रले उत्कृष्ट अंक ल्याएका थिए । सम्मान कार्यक्रममा प्यब्सनले ४९ वटा विद्यालयहरुलाई पनि सम्मान गरेको थियो ।

प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्याब्सनका केन्द्रिय उपाध्यक्ष आशिष श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख दिनानाथ गौतम र हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख सिताराम कोइराला लगायतको आतिथ्य रहेको थियो ।