हेटौंडाः बागमती प्रदेशको दुई जिल्लामा विभिन्न घटनामा परी तीन जनाको मृत्यु भएको छ । काभ्रेमा दुई तथा सिन्धुलीमा एक जना गरी तीन जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित भिमानमा एक पुरुषको मृत्यु भएको छ । सोमबार राति १२ बजेको समयमा हरिहरपुरगढी गाउँपालिका–७ घर भई हाल भिमानमा कमलामाई पशुपंक्षी कृषि फार्ममा काम गरी बस्ने २२ वर्षीय बाबुलाल योन्जन फार्मको शौचालयमा अचेत अवस्थामा फेला परेका थिए । योन्जनलाई उनकी श्रीमती श्रीमाया गोलेले देखेर उठाउन खोज्दा गोलेलाई करेन्टको झड्का महसुश भएको भनि प्रहरीमा खबर गरेका थिए । त्यस पश्चात प्रहरी टोली खटेर योन्जनलाई उपचारको लागि सिन्धुली अस्पतालमा लगिएकोमा उपचारको क्रममा १ बजेर २० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको हो । मृत्युको कारण खुलिनसकेको र थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै सोमबार काभ्रेको पनौती नगरपालिका–५ पुन्यमातामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बिहान ७ बजेर ३० मिनेटको बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्र ३–०२–००७ प ५४११ नम्बरको मोटरसाइकल सडकबाट ६ मिटर तल खोलामा खस्दा चालक काभ्रेको नमोबुद्ध नगरपालिका–१ का २४ वर्षीय दीपेन्द्र खड्काको मृत्यु भएको हो ।
यस्तै सोमबार काभ्रेकै पनौती नगरपालिका–६ मा एक पुरुष मृत फेला परेका छन् । वडास्थित गोरथनाथ सामुदायिक वनको छेउमा रहेको प्रतिक्षालयमा ५२ वर्षीय पुरुष मृत अवस्थामा भेटिएको हो । शवको पहिचान गर्दा बाहिरी चोटपटक नदेखिएको र दिउँसो ४ बजेट १५ मिनेटको समयमा मुचुल्का पश्चात पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।