मनहरी–३, हाँडीखोलाको वडा कार्यालय अगाडिको ऐतिहासिक चौतारो प्रधानमन्त्री रोजगार कार्यक्रमको रकमबाट निर्माण हुँदै ।

हेटौंडाः मकवानपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका योजनाहरु अन्तिम चरणमा पुगेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिकाले चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १४ योजना मध्ये १२ योजना सम्पन्न गरेको छ । ४३ लाखको १४ योजनामध्ये १२ योजना सम्पन्न भएको र २ योजना अन्तिम चरणमा पुगेको रोजगार संयोजक गोविन्द विश्वकर्माले बताउनुभयो । सम्पन्न भएका ७ योजनाको रकम पनि भुक्तानी भैसकेको छ भने अन्य भुक्तानीको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष राक्सिराङ गाउँपालिकामा करिब ३ हजार मानिसले बेरोजगार फारम भरेका थिए । उनीहरुमध्ये यो वर्ष पदमार्ग निर्माण, कुलो निर्माण, पर्यटकीय मन्दिर निर्माण, तटबन्धन तथा सरसफाई कार्यक्रम अन्तर्गत केहीले रोजगारी पाएका हुन् । राक्सिराङमा दैनिक ज्यालादारी अनुसार अदक्ष कामदारलाई जिल्ला दररेट अनुसार दैनिक ६ सय ५० रुपैयाँ र दक्ष कामदारलाई ९ सय रुपैयाँका दरले काममा लगाईएको रोजगार संयोजक विश्वकर्माले बताउनुभयो ।

मकवानपुरको बकैया गाउँपालिकाले पनि चालु वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५९२ जनालाई रोजगार प्रदान गरेको छ । न्यूनतम १३ दिनको रोजगारी प्रदान गरिएको रोजगार संयोजक रामचन्द्र खड्काले बताउनुभयो । प्रधामन्त्री रोजगार कार्यक्रम अन्तर्गत २३ योजना सम्पन्न भएको उहाँले बताउनुभयो । ६० लाख ९० हजारको २३ योजना सबै सम्पन्न भैसकेको अवस्थामा रहेको र रकम भुक्तानीको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । बकैया गाउँपालिकाले प्रतिक्षालय निर्माण, सिचाई, गोरेटो बाटो, ढल तथा नाला निर्माण, विद्यालय खेल मैदान लगायतका कार्यहरुमा बेरोजगार आवेदन भरेका मानिसहरुलाई रोजगारी दिएको हो । गत वर्ष बकैयामा ४ हजार व्यक्तिले बेरोजगार फारम भरेका थिए भने चालु वर्षमा १ हजार ७ सय मानिसको मात्र नाम सफ्टवेयरमा इन्ट्री गरिएको छ । चालु वर्षमा बकैयामा ४६ योजना स्वीकृत भएपनि बजेट कम आएपछि योजना घटाइएको उहाँले बताउनुभयो । चालु वर्षमा ३५६ जनालाई २५ दिनको रोजगारी दिने लक्ष्य लिएपनि लकडाउनका कारण गाउँपालिकामा बेरोजगारी बढेका कारण लक्ष्य भन्दा बढी व्यक्तिहरुलाई रोजगारी दिइएको संयोजक खड्काले बताउनुभयो ।

मनहरी गाउँपालिकाले प्रधामन्त्री रोजगार कार्यक्रम अन्तर्गत ४५ लाखको ९ योजना छनौट गरेको छ । पाँच–पाँच लाखको ९ योजना मध्ये ७ योजना सम्झौता भैसकेको रोजगार संयोजक शारदा पोखरेलले जानकारी दिनुभयो । प्रत्येक योजनामा लभगभ ४० जनालाई १५ दिनको रोजगारी दिइएको उहाँको भनाई छ । उनीहरुले सडक निर्माण, वृक्षरोपण, खानेपानीको पाइपलाइन विस्तार, फलफुलको विरुवा रोप्ने, पदमार्ग निर्माण, चौतारा निर्माण लगायतका कामहरु गरेका हुन् । गतवर्ष मनहरी गाउँपालिकामा झन्डै ३ हजार बेरोजगारहरुले आवेदन दिएका थिए । एउटा योजना सम्पन्न भै भुक्तानीको अन्तिम चरणमा रहेको र अन्य योजनाहरु अन्तिम चरणमा पुगेको रोजगार संयोजक पोखरलले बताउनुभयो ।

मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोवर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १० लाखको २ योजनाहरु सम्पन्न भएको छ । दुवै योजना कुलो निर्माण रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडिले जानकारी दिनुभयो । त्यस्तै हेटौंडा उपमहानगरपालिका भित्रका नौ स्थानका सिचाई, तटबन्धन, पदमार्ग, सिढि निर्माण, नाला निर्माण तथा पार्क निर्माण लगायतका कामहरुबाट ४ सय ७५ जना बेरोजगार व्यक्ति लाभान्वित भएका छन् । हेटौंडा उपमहानगरमा गतवर्ष १२ हजार बेरोजगारहरुले बेरोजगारी फारम भरेका थिए । त्यस्तै मकवानपुरको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तिम चरणमा पुगेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।