हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएको छ । शुक्रबार सम्पन्न गाउँसभाबाट बजेट पारित गरिएको गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले जानकारी दिनुभयो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोडको बजेट पारित गरेको हो । यसअघि असार १० गते भएको गाउँसभामा पालिकाकी उपाध्यक्ष पाख्रिनले ५७ करोड ९५ लाख ५६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षको मौज्दात ३ करोड ५० लाख रुपैयाँसहित बजेट ६३ करोड पुगेको उपाध्यक्ष पाख्रिनले बताउनुभयो । शुक्रबार सम्पन्न गाउँसभाले विनियोजन विधेयक पनि स्वीकृत गरेको छ ।

यस पटक पालिकाले शिक्षा क्षेत्रमा प्राथमिकता दिएर लगानी गरेको उपाध्यक्ष पाख्रिनले बताउनुभयो । यसका लागि चालु आर्थिक वर्षमा दुई करोड बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेकोमा आगामी आर्थिक वर्षका लागि पालिकाले चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उपाध्यक्ष पाख्रिनका अनुसार वडाहरुबाट पनि निश्चित प्रतिशत शिक्षा क्षेत्रमा खर्च गर्ने गरी बजेट विनियोजन भएको छ ।

पालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणा गरिसकेको अवस्थामा त्यही कार्यक्रमलाई अगाडि बढाउने र आधारभूत तहसम्मका विद्यार्थीहरुले निःशुल्क पढ्न पाउने व्यवस्था मिलाउन, विद्यालयहरुमा अनुदानको व्यवस्था र अतिरिक्त कक्षा व्यवस्थापनजस्ता कार्यक्रम गर्न शिक्षा क्षेत्रमा लगानी बढाइएको हो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा किसान सञ्चिती कोषका ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । दूध बेच्ने किसानहरुलाई गाउँपालिकाले ५० पैसा, सहकारीले ५० पैसा र किसानले ५० पैसा जम्मा गरेर खातामा राखेर निश्चित अवधि पूरा गरिसकेपछि किसानले निकाल्न पाउनेछन् । किसान पेन्सनजस्तो यो कार्यक्रममा त्रिपक्षीय लागत हुनेछ । यस्तै, दूधमा लिटरको १ रुपैयाँ अनुदान दिन ८३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गाउँपालिकामा कृषि एम्बुलेन्सको व्यवस्था गरिने भएको छ । पालिकाभित्रको १ नम्बर वडामा धान र कोदो, २ नम्बर वडामा गोलभेँडा र बाख्रापालन, ३ नम्बर वडामा दूध र केरा, ५ नम्बर वडामा खुर्सानी, ६ नम्बर वडामा तरकारी र फलफूल र ८ नम्बर वडामा गोलभेँडा खेतीको बजारीकरणमा सहयोग पु¥याउन सहकारीको साझेदारीमा एम्बुलेन्स व्यवस्था गर्ने भएको हो ।

यस्तै, कृषकहरुबाट उत्पादित स्थानीय एवम् रैथाने बालीहरु कोदो, धानकोदो, जुनेली, फापर, सिमीको उत्पादनमा आधारित प्रोत्साहन अनुदानको कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रम रहेको छ । यस्तै, गाउँपालिकाले पालिका वडा नम्बर ५ स्थित धादिङको मिनी रंगशालालाई रंगशालाको रुपमा विकास गर्ने भएको छ ।