फाईल तस्विर ।

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन पहिलो साता नयाँ सरकार निर्माणको मार्ग खुला गर्नुहुने भएको छ । उहाँले प्रक्रियागतरुपमा नै नयाँ गठबन्धनलाई सरकार निर्माणको वातावरण तयार गर्ने योजना बनाएको बताउनुभयो ।

विश्वासको मत लिने विषयमा तत्काल मिति तय नगरिएकाले सत्ता गबठन्धनका दलहरुबिच छलफल गरेर निर्णय गर्ने उहाँको भनाइ छ । दलहरुसँगको छलफलका आधारमा एमाले–कांग्रेस गठबन्धनबाट सरकार निर्माणका लागि बाटो खुला गरिदिने उहाँले बताउनुभयो ।

‘आइतबार सरकारमा रहेका दलहरुसँगको छलफलमा विश्वासको मत लिने मितिको बारेमा निर्णय हुन्छ । मैले मिति तय गरेको छैन । साझेदार दलहरुसँगको छलफलपछि संसद सचिवालयमा पत्र पठाउँछु ।’ उहाँले भन्नुभयो । मुख्यमन्त्री जम्कट्टेलका अनुसार केन्द्रमा माओवादी केन्द्रको सरकारले संसदबाट विश्वासको मत नपाएको र प्रदेशमा पनि प्राप्त नहुने स्पष्ट रहेको छ । सोही अनुसार सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न प्रक्रियामा अघि बढेको उहाँले बताउनुभयो ।

नयाँ समीकरणका दलहरु केन्द्रमा सरकार निर्माणमा जुटेको र आइतबार नै नयाँ सरकार गठन हुने भएकाले सोपश्चात् एमाले–कांग्रेसले प्रदेशको तयारी थाल्ने मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो । ‘म आफै धेरै समय लिने सोचमा छैन । विश्वासको मत लिएर वा राजीनामा दिए पनि नयाँ सरकार गठनमा मार्गप्रशस्त गर्ने हो’, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो– ‘प्रक्रियागतरुपमा सरकार निर्माणको लागि सहज वातावरण तयार हुनेछ ।’

कांग्रेस–एमाले केन्द्रमा सरकार गठनको तयारीमा भएकाले प्रदेशमा त्यति चासो नदिभएको उहाँको भनाइ छ । ‘केन्द्रमा सरकार गठन भइसकेपछि उहाँहरु अघि बढ्नुहुन्छ । त्यसलाई ध्यानमा राखेर म आफैँ धेरै समय नलिने र प्रक्रियाबाट सरकारको नेतृत्व चयनका लागि वातावरण निर्माण गर्छु ।’ मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो ।