हेटौंडाः २११ औँ भानु जयन्तीको अवसरमा आयोजित वासुदेव–भानु स्मृति साहित्य सम्मान–२०८१ तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वासुदेव–भानु स्मृतिको आयोजना तथा भानु माविको सहयोगमा भानुभक्तको शालिकमा माल्यार्पण गरी उद्घाटन गरिएको नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष ध्रुव अधिकारीले जानकारी दिनुभयो ।

भानु जयन्ती शनिबारका दिन परेकाले संस्थाले एकदिन अघि शुक्रबार कार्यक्रम आयोजना गरेको हो । वासुदेव रिजाल स्मृति प्रतिष्ठानले २०७१ सालदेखि हरेक वर्ष एकजना साहित्यकारलाई सम्मान गर्दै आएको छ । प्रतिष्ठानले २०७१ सालमा भानु माविमा भानुभक्तको शालिक स्थापना गरेपश्चात् सम्मान तथा कविता वाचन कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा साहित्यकार दीपक गौतमलाई १५ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको छ । नवसर्जक साहित्य चौतारी नेपालका संरक्षक तथा परिकल्पनाकारसमेत रहनुभएका गौतमले साहित्य क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा भानु माविका १० जना विद्यार्थीहरुले कविता वाचनसमेत गरेका थिए । प्रतियोगितामा उत्कृष्ट हुने ३ जना र सान्त्वना हुने २ जनालाई नगद राशिसहित सम्मान गरिएको छ । प्रतियोगितामा उकृष्ट हुने श्रीया फुयाँल, सनमाया ब्लोन र अनुश्री अधिकारीलाई नगद २ हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरिएको थियो भने सान्त्वना हुने अनुष्का दहाल र स्वराज सापकोटालाई पाँच सय रुपैयाँ नगदसहित सम्मानपत्रले सम्मान गरेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा वासुदेव रिजाल प्रतिष्ठानका कोषाध्यक्ष अञ्जना उपाध्याय रिजालको सभाध्यक्षता तथा भानु माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलप्रसाद चौलागाईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापा र समितिका अध्यक्ष लक्ष्मण भट्टराईको विशेष आतिथ्य थियो ।

कार्यक्रममा अनिता न्यौपाने, सन्तोषी नगरकोटी, राजकुमार लामिछाने, शिवराज शाही, सुवास सजल आदिले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा निर्णायकको भूमिकामा साहित्यकार शिवराज शाही र सुवास सजल रहनुभएको थियो ।

प्रतिष्ठानले २०७१ सालमा साहित्यकार रामचन्द्र आचार्य फुर्सती, २०७२ मा पुरुषोत्तम आचार्य, २०७३ मा प्रभा भट्टराई, २०७४ मा श्यामकुमार बानियाँ, २०७५ मा नरेन्द्र परासर, २०७६ मा मुना अर्याल, २०७७ मा निमेष निखिल, २०७८ जनार्दन शर्मा, २०७९ मा ठाकुर शर्मा भण्डारी र २०८० मा सुनिल गौतमलाई सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष आरसी रिजालले बताउनुभयो ।