हेटौंडाः आज शनिबार नेपाल तथा विदेशको विभिन्न स्थानमा २११ औं भानु जयन्ती मनाइँदै छ । नेपालका आदिकविसमेत रहेका भानुभक्त आचार्यको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
भानुभक्तको जन्म वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा भएको थियो । उनले संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए । यसकारणले भानुभक्त आचार्यलाई नेपालमा आदिकवि (प्रथम कवि) भनेर चिनिन्छ ।
उनले लेखेको रामायण नेपालीहरूको घरघरमा सस्वर लयका साथ पाठ गर्ने गरिन्छ । यसैगरी उनको बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकरजस्ता धेरै कृति छन् ।
भानुभक्तको निधन वि.सं १९२५ असोज महिनामा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवम् स्थानमा समेत मनाउने गरिएको छ ।