हेटौंडाः मकवानपुर अधिकृत बिक्रेता व्यवसायी संघले ब्लड क्यान्सर पीडित सुस्मिता गुरुङको परिवारलाई नगद सहयोग गरेको छ । बिहीबार व्यवसायीको समूहले हेटौंडा–१४, मयूरधापमा बसोबास गर्ने ९ वर्षीया क्यान्सर पीडित सुस्मिता गुरुङको परिवारलाई नगद सहयोग गरेको हो ।
संघका अध्यक्ष अमितकुमार श्रेष्ठले बालिकाको आमा तीर्थकुमारी गुरुङ र बुबा जयबहादुर गुरुङलार्ई ४२ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । संघका सल्लाहकार विजयकुमार श्रेष्ठले क्यान्सर पीडित गुरुङको स्वास्थ्य लाभको कामना गर्दै परिवारजनमा हौसला प्रदान गर्नुभयो ।
अधिकृत व्यवसायी संघका सचिव अंकित खतिवडाको संयोजकत्वमा सदस्य रुपक वर्णवाल, संघका सदस्यहरुको सहयोगमा १४ नम्बर वडा कार्यालय परिसरमा नगद सहयोग हस्तान्तरण गरिएको छ ।
सो अवसरमा वडा अध्यक्ष दीपक खड्काको पहलमा पीडित परिवारलाई सहयोग गर्न सफल भएको बताइएको छ । पीडित परिवारले पैसाको अभाव परेको कारणले वडासँग गरेको सिफारिसअनुसार वडाकै पहलमा नगद सहयोग हस्तान्तरण गरेको हो ।
उपचारको क्रममा परिवारलार्ई केही सहयोग पुगोस् भन्ने अपेक्षा गरेर सहयोग गरिएको संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसअघि पनि संघले नेपाल रेडक्रस सोसाइटी हेटौंंडालाई सहयोग गरेको छ भने हेटौंडा अस्पतालमा उपचारत विपन्न परिवारका बिरामीलाई २५ हजार रुपैयाँ नगद सहयोग गरेको थियो । क्यान्सर पीडित बालिकाको कठमाडौं महानगरपालिकाको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
अहिलेसम्म उपचारमा ४० लाख रुपैयाँ खर्च भइसकेको र उपचारका लागि रकमको अभाव भएका कारण वडाको पहलअनुरुप नगद सहयोग गरेको बताइएको छ । वडा अध्यक्ष खड्काले पीडित परिवारलार्ई सहयोग गरेकोमा संघलाई धन्यवाद दिनुभयो ।
यस्तै, मकवानपुर जिल्ला बक्सिङ संघले पनि पीडित परिवारलार्ई १९ हजार रुपैयाँ नगद सहयोग गरेको छ । बिक्रेता संघले सहयोग गरेपछि बक्सिङ संघका उपाध्यक्ष अनिल दहालले नगद हस्तान्तरण गर्नुभएको हो । बक्सिङ प्रशिक्षक लाल पौडेलले ५ हजार रुपैयाँ र बक्सिङ संघले १४ हजार संकलन गरेर १९ हजार रुपैयाँ सहयोग गरेको उपाध्यक्ष दहालले बताउनुभयो ।