गुगल तस्विर

हेटौंडाः बागमती प्रदेशको विभिन्न स्थानमा डेंगुको जोखिम देखिँदै गएको छ । हाल केहि समयदेखि कम भएको डेंगु संक्रमण फेरि देखिन थालेको हो ।

मकवानपुर जिल्लाको केहि पालिकामा फाट्टफुट्ट डेंगु देखिएको छ । आइतबार हेटौंडा उपमहानगरपालिकाका एक जना बासिन्दालाई डेंगु पुष्टि भएको छ । यस्तै, असार ९ गते आइतबार भीमफेदी गाउँपालिकाका दुई जना बासिन्दालाई डेंगु भएको थियो । जनस्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार गत साउन महिनादेखि हालसम्म जिल्लामा ८ सय ८९ जनालाई डेंगु संक्रमण भएको छ । संक्रमण हुनेमा ४ सय ५५ जना पुरुष रहेका छन् भने ४ सय ३६ जना महिला रहेका छन् ।

जिल्लामा धेरै हेटौंडा उपमहानगरपालिकाका ५ सय ७१ जना बासिन्दा डेंगु संक्रमित भएका छन् । जसमा एक जनाको मृत्युसमेत भएको छ । गत साउनदेखि हालसम्म थाहा नगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका २१ जना, बागमती गाउँपालिकाका २४ जना, कैलाश गाउँपालिकाका एकजना, मनहरी गाउँपालिकाका ७३ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३९ जना, बकैया गाउँपालिकाका २६ जना र राक्सिराङ गाउँपालिकाका ३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

यस्तै, असार २१ गते शुक्रबार बागमती प्रदेशमा ६ जनालाई डेंगु पुष्टि भएको थियो । असार महिनामा काठमाडौंका २७ जना, चितवनका १९ जना, ललितपुरका ३ जना, नुवाकोटका एक जना, काभ्रेपलाञ्चोकका १० जना बासिन्दामा डेंगु देखिएको छ । गत साउन महिनादेखि हालसम्म बागमती प्रदेशमा ११ हजार ८ सय ६५ जनामा डेंगु देखिएको हो । जसमा ६ जनाको मृत्यु भएको छ । बागमती प्रदेशको धादिङ जिल्लामा सबैभन्दा धेरै ३ हजार ५ सय ४५ जनामा डेंगु देखिएको छ भने रसुवा जिल्लामा सबैभन्दा कम ३ जनामा डेंगु देखिएको छ ।

डेंगुको कुनै उपचार नभएकाले आफैँ डेंगुबाट बच्नुपर्ने चिकित्सकहरुको भनाइ छ । घर वरिपरि पानी जम्न नदिने, सुत्दा झुलको प्रयोग गर्ने, लामो बाउला भएको लुगा लगाउने, घरका झ्याल एवम् ढोकामा जाली लगाउने गर्दा यसको संक्रमणबाट बच्न सकिन्छ ।