हेटौंडा उपमहानगरपालिका ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको विद्यार्थी विवरणमा सफ्टवेरका कारण समस्या देखिएको छ । विद्यालयले पेश गर्नुपर्ने विद्यार्थी विवरणमा सफ्टवेरका कारण आधिकारिक डाटा प्राप्त नभएको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जनाएको हो ।

असार १५ सम्म नगरभित्रका एक सय २३ वटा विद्यालयले विद्यार्थी विवरण पेश गरेका छन् । नगरभित्रका ७३ वटा सामुदायिक र ५० वटा संस्थागत विद्यालयले विद्यार्थी विवरण भरेको सफ्टवेरमा देखिएको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जानकारी दिएको छ । विवरणअनुसार हेटौंडाका विद्यालयमा ५२ हजार एक सय ७२ जना विद्यार्थी अध्यनरत छन् ।

हेटौंडाको आधुनिक राष्ट्रिय माविमा सबैभन्दा धेरै २ हजार ७ सय ६४ जना विद्यार्थी पठनपाठन गरिरहेका छन् । महाशाखाले सफ्टवेर र केहि हदसम्म विद्यालयको लापरवाहीका कारण ठोस डाटा प्राप्त नभएको जनाएको छ । धेरै जनाले चलाइरहेको भएकाले सफ्टवेरमा समस्या देखिएको महाशाखाको भनाइ छ ।