हेटौँडाः मकवानपुरको बकैया गाउँपालिका–४, थलीस्थित बाघभैरव आधारभूत विद्यालयको अध्यक्षमा सुनिल बोम्जन चयन हुनुभएको छ । आइतबार बसेको समिति सदस्यहरुको पहिलो बैठकले बोम्जनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
आइतबार नै नयाँ व्यवस्थापन समिति गठनका लागि चार जना सदस्य निर्वाचनमार्फत चयन गरिएको थियो । निर्वाचनमा बोम्जनको प्यानल नै विजयी भएको थियो । निर्वाचनमा सुनिल बोम्जनले ६९ मत, रमिता घलानले ६७ मत, भीमलाल लुङ्बाले ६७ र शान्ति मोक्तानले ६८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको थियो । बैठकले दुई जना सदस्यहरुलाई मनोनित गरेको छ । पुरुष सदस्यमा चन्द्र बहादुर घलान र महिलामा बेलिमाया टुप्पा मनोनित हुनुभएको हो ।
आइतबार ६ सदस्यीय समिति गठन भएको विद्यालयका प्रधानाध्यापक सुबास स्याङ्बोले बताउनुभयो । केहीदिनभित्र ९ सदस्यीय समिति बन्ने उहाँले बताउनुभयो । समितिमा विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने व्यवस्था छ । आइतबार भएको निर्वाचनमा १ सय ३२ मतदातामध्ये १ सय १९ जनाले मात्र मतदान गरेका थिए । जसमा ८ मत भने बदर भएको थियो । नयाँ कार्यसमितिको कार्यकाल ३ बर्षको रहने छ ।