हेटौंडाः बागमती प्रदेशका दुई जिल्लामा विभिन्न घटनामा परी तीन जनाको मृत्यु भएको छ । काभ्रेमा दुई र सिन्धुलीमा एक गरी तीन जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

शनिबार साँझ ७ बजे काभे्रको रोशी गाउँपालिका–११ स्थित भ्याकुरे खोला तर्ने क्रममा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकी ६५ वर्षीया जालमाया रुजाल मगर र उनकी भदैनी ५ वर्षीया सेतीमाय रुजाल मगर रहेको प्रहरीले जनाएको छ । दुबै जना खोलाले बगाएको ठाउँबाट ९ सय मिटर तल मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित राममाडीमा एक जना मृत फेला परेका छन् । सोही ठाउँस्थित मुस्कान होटलमा पाँच महिनादेखि भाडामा बस्दै आइरहेका सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–६ का ४१ वर्षीय नारायण बोहोरा मृत फेला परेको प्रहरीले जनाएको छ ।

ओखलढुङ्गा, सिन्धुली, सोलुखुम्बुको र खोटाङ जिल्लाको रेडबुल कम्पनीको डिलर ईन्चार्जसमेत रहनुभएका बोहोरा असार २१ गते सम्पर्कमा नआएपछि प्रहरी, उक्त कम्पनीको स्टाफ र होटल साहुको उपस्थितिमा कोठा खोल्दा मृत अवस्थामा भेटिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।