हेटौँडा–५, पिप्लेस्थित बालज्योति माविमा प्रथम त्रैमासिक परीक्षा दिँदै विद्यार्थी । फाईल तस्विर ।

हेटौंडाः हेटौंडा उपमहानगरभित्र रहेका ५६ वटा सामुदायिक विद्यालयमा आज आइतबारदेखि प्रथम त्रैमासिक परीक्षा सुरु हुँदैछ । नगरभित्र रहेका ७३ वटा विद्यालयमध्ये ५६ वटा विद्यालयमा आजबाट परीक्षा सञ्चालन हुने नगरस्तरीय शैक्षिक समन्वय समितिका परीक्षा संयोजक कृष्ण पोखरेलले जानकारी दिनुभयो ।

१ कक्षादेखि १० कक्षासम्मका १२ हजार जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाले परीक्षाको प्रश्नपत्रको व्यवस्था गरेको छ । दुई सिफ्टमा परीक्षा सञ्चालन हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । यस्तै, सोमबार नेपाली, मंगलबार गणित, बुधबार सामाजिक, बिहीबार विज्ञान तथा प्रविधि, शुक्रबार स्वास्थ्य शिक्षा, आइतबार स्थानीय विषयको परीक्षा हुनेछ । कक्षा ९ र १० को ऐच्छिक प्रथम र द्वितीय विषयको परीक्षा पनि शुक्रबार र आइतबार हुने परीक्षा संयोजक पोखरेलले जानकारी दिनुभयो ।

प्रथम त्रैमासिक परीक्षा सकिएपछि असार ३१ गतेदेखि साउन २३ गतेसम्म विद्यालयले वर्षे बिदा दिनेछ । वर्षे बिदा कटौती हुने गरी गर्मी बिदा विद्यालयले २ दिन दिएको थियो । गर्मी बिदा कटौती गरी पठपाठन सञ्चालन गर्ने कि नगर्ने विषयमा पछि छलफल गरिने पोखरेलले बताउनुभयो । हेटौँडा उपमहानगरपालिकाको क्यालेण्डरअनुसार प्रथम त्रैमासिक परीक्षा सुरु गरिएको हो ।