हेटौंडाः बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रादेशिक सडक यातायात गुरुयोजना कार्यान्वयनमा ल्याउने भएको छ । प्रदेश सरकारले निर्धारण गरेको मापदण्डअनुसार सडक छनोट गरी आगामी आर्थिक वर्ष २०८१/०८२ देखि कार्यान्वयनमा अघि बढेको हो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सार्वजनिक सडक ऐन, २०७८ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी प्रदेशका सार्वजनिक सडकहरुलाई प्रदेश लोकमार्ग तथा प्रदेश मार्गको पहिचान तथा वर्गीकरण गरी गुरुयोजना तयार गरेर कार्यान्वयनमा अघि बढेको हो । मन्त्रालयले मापदण्डअनुसार २० वटा प्रदेश लोकमार्ग र २३० वटा प्रदेश मार्गहरु पहिचान गरी निर्धारण गरेको छ ।

मन्त्रालयले सो सडक आयोजनामा लगानी गर्नेगरी गुरुयोजना कार्यान्वयनमा अघि बढेको मन्त्रालयमा सचिव अमृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गत असार १० गते प्रदेश लोकमार्ग र मार्गहरु निर्धारण गरी राजपत्रमा समेत प्रकाशन गरिएको छ ।

कुल १ हजार ११ किलोमिटर लम्बाईका ती सडक आयोजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरी स्तरोन्नति र विकास गर्ने मन्त्रालयको योजना रहेको छ । सोबाहेका अन्य सडक आयोजनाहरुमा बजेट विनियोजन गर्दा स्थानीय तहसँगको समन्वयमा काम गर्ने मन्त्रालयको तयारी रहेको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अनुसार सडक पूर्वाधार विकासलाई व्यवस्थित गर्न गुरुयोजना निर्माण गरेर कार्यान्वयनमा अघि बढेको हो । प्रदेश सरकारले बजेट विनियोजनलाई व्यवस्थित गर्दै लगानी आकर्षित गर्ने उद्देश्यअनुसार गुरुयोजना कार्यान्वयन गरिएको उहाँले बताउनुभयो । प्राविधिक अध्ययनबिना जथाभावी सडक खन्ने परम्परालाई क्रमभंग गरी वातावरणीय विनाश तथा विपद् जोखिम नियन्त्रणमा महत्वपूर्ण हुने उहाँको भनाइ छ । सुरुवातदेखि नै सडक पूर्वाधार विकासमा जोड दिँदै आएको बागमती प्रदेश सरकारको गत जेठ २२ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश सडक गुरुयोजना स्वीकृत गरेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सो गुरुयोजनाअन्तर्गतका सडक पूर्वाधार निर्माणका लागि ७ अर्ब ७८ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मन्त्रालयद्वारा निर्धारित प्रदेश लोकमार्गहरु

मन्त्रालयले ललितपुर र मकवानपुरलाई जोड्ने गरी प्रदेश लोकमार्ग निर्धारण गरेको छ । मन्त्रालयले ललितपुरको बागमती गाउँपालिका र मकवानपुरको बकैया गाउँपालिका जोड्ने गरी प्रदेश लोकमार्ग निर्धारण गरेको हो ।

मन्त्रालयको मापदण्डअनुसार ललितपुरको बगुवा– प्युटार– आश्राङ– गिम्दी खुर्मी– मन्थली– शिखरपुर– हात्तीसुँडे सडकलाई प्रदेश लोकमार्गका रुपमा विकास गर्ने भएको छ । ४७ किलोमिटर लम्बाईको उक्त सडकलाई स्तरीकरण गरी लाकमार्गको रुपमा विकास गर्ने मन्त्रालयको तयारी रहेको छ ।

यस्तै, चितवनबाट धादिङको सीमासम्म जोड्न प्रदेश लोकमार्गका रुपमा सडक आयोजना पहिचान गरेको छ । मन्त्रालयले चितवनको रत्ननगर नगारपालिका हुँदै कालिका नगरपालिका, इच्छाकामना गाउँपालिकाबाट धादिङको गजुरी गाउँपालिकाको सीमा जोड्ने सडकलाई प्रदेश लोकमार्गका रुपमा विकास गर्ने भएको हो । मन्त्रालयले ६० किलोमिटर लम्बाईको बकुलर (रत्ननगर)– जुटपानी– शक्तिखोर– उपरदाङगढी– तेर्से– मायाटार– बशपुर– फिस्लिङ सडकलाई लोकमार्गको रुपमा विकास गर्ने तयारी गरेको हो । मुग्लिङ–नारायणगढ सडकखण्डको वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने भएकाले सो सडकलाई प्रदेश सरकारले प्राथमिकताका साथ लोकमार्गका रुपमा विकास गर्ने तयारी गरेको हो ।

प्रदेश लोकमार्गका रुपमा सरकारले बालाजु– नेपालटार– साङ्गला सडकलाई विकास गर्ने भएको छ । काठमाडौंको बालाजुबाट नेपालटर हुँदै साङ्गलासम्मको ९ किलोमिटर सडकलाई बालाजु बाइपास सडकको रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रदेश सरकारले मकवापनुरको भैंसे– कुलेखानी– छैमले– बल्खु सडकलाई प्रदेश लोकमार्गको रुपमा विकास गर्ने भएको छ । गुरुयोजनामा समावेश गरी सरकारले राजधानी मार्ग नामाकरण गर्द बल्खु– छैमले– कुलेखानी– भैंसे सडक विकासको तयारी गरेको हो । काडमाडौं–हेटौंडा जोड्ने ६७ किलोमिटर लम्बाईको उक्त सडक स्तरोन्नतिसहित विकास गर्ने सरकारको तयारी रहेको छ ।

मन्त्रालयले चितवनको चौबीस कोठीदेखि मेघौलीसम्मको सडकलाई प्रदेश लोकमार्गको रुपमा विकास गर्ने तयारी गरेको छ । मन्त्रालयले २८ किलोमिटर लम्बाईको चौबीसकोठी (भरतपुर)– मंगलपुर– शारदानगर– गुन्जनगर– दिव्यनगर– मेघौली– जीतपुर– गोलाघाट सडकलाई लेकमार्ग कायम गर्नेगरी अघि बढाएको छ ।

काभ्रेको जिरो किलोबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै हेलम्बु जोड्ने सडकलाई लोकमार्ग कायम गरिएको छ । काभ्रेको जिरोकिलो– मेलम्ची– हेलम्बु– तिम्बु– मेलम्ची घ्याङसम्मको ६० किलोमिटर दुरीको सडकलाई लोकमार्गको रुपका विकास गर्न सरकारले गुरुयोजनामा समावेश गरेको छ ।

त्यसैगरी, प्रदेश सडक गुरुयोजनामा ८१ किलोमिटर लम्बाईको सिन्धुलीदेखि उदयपुरको कटारी जोड्ने सडक समावेश गरिएको छ । सिन्धुलीमाडी– चकमके– अरुणठाकुर– कटारीसम्मको उक्त सडक प्रदेश लोकमार्गअन्तर्गत राखेर विकास गर्ने मन्त्रालयको तयारी रहेको छ ।

काभ्रेको दोलालघाटबाट रामेछापको मन्थली जोड्ने गरी मन्त्रालयले प्रदेश लोकमार्ग निर्माण अघि बढाएको छ । मन्त्रालयले गुरुयोजनाअन्तर्गत ९५ किलोमिटर लम्बाईको दोलालघाट– फलाटे– ढाडखर्क– गुराँसे– गाल्वा– मन्थली सडकलाई विकास गर्ने भएको हो । मन्त्रालयले काभ्रेदेखि मकवानपुरको बागमती गाउँपालिका जोड्ने गरी जनमुक्ति मार्ग निर्माण अघि बढाउने भएको छ । गुरुयोजनाअन्तर्गत जनमुक्ति मार्ग नामाकरण गरी ८४ किलोमिटर लम्बाईको पिङ्थली– भूमिचुली– देवीटार– तालढुंगा– सिक्रे दोभान– झुरझुरे सडक आयोजना अघि बढाउने मन्त्रालयको योजना रहेको छ ।

भक्तपुरबाट काभ्रेको दोलालघाट जोड्ने गरी ५६ किलोमिटर लम्बाईको सल्लाघारी– कमलविनायक– खरिपाटी– नगरकोट– हिंमुवापाटी– दोलालघाट सडक गुरुयोजनामा समावेश गरी अघि बढाइएको छ । गुरुयोजनाअन्तर्गत मन्त्रालयले मैत्रीमार्ग नामाकरण गरी काठमाडौंदेखि सिन्धुपाल्चोकको बलेफी जोड्ने सडक आयोजना विकास गर्ने भएको छ । ६४ किलोमिटर लम्बाईको मैत्रीमार्ग काठमाडौंबाट कात्तिके– चुरीथुम्का– सिपाघाट– चौताराहुँदै बलेफी जोडिनेछ ।

रामेछापदेखि दोलखा जोड्ने सडक आयोजनालाई लोकमार्गको रुपमा अघि बढाउने मन्त्रालयको तयारी रहेको छ । गुरुयोजनामा समावेश गरिएको ४२ किलोमिटर लम्बाईको खिम्ती– रस्नालु– जिरी सडक स्तरोन्नतिसहित विकास गर्ने मन्त्रालयको योजना रहेको छ । गुरुयोजनाअन्तर्गत ५१ किलोमिटर लम्बाईको तीनपिप्ले– ओखरपौवा– कोल्पुटार– गल्छी सडक, ४६ किलोमिटरको धादिङबेसी– स्याउले– बडरथोक– काफलपानी– मान्द्रेढुंगा सडक, २१ किलोमिटर लम्बाईको सुकुटे– मिलडाँडा– बाघभैरव– वाफल– लिसंखु– घ्याङडाँडा सडक आयोजना समावेश गरिएको छ ।

मधेस प्रदेशबाट बागमती प्रदेश जोड्ने गरी १६ किलोमिटर लम्बाईको कर्मैया– बख्फर– हाकपारा– मदन भण्डारी लोकमार्ग सडक, गणेशमान सिंह मार्ग नामाकरण गरिएको २९ किलोमिटर लम्बाईको (कुन्छाल– चित्लाङ– थानकोट चेकपोष्ट सडक), ३३ किलोमिटर लम्बाईको मनमोहन मार्ग (चावहिल– साँखु– फट्केश्वर सडक), ५१ किलोमिटर लम्बाईको मुकुन्द सेन मार्ग (धादिङबेसी– फोस्रेटार– मान्द्रेढुंगा– त्रिशुली सडक) र ५२ किलोमिटर लम्बाईको मुडे– मेलुङ– सितली सडकलाई प्रदेश लोकमार्ग कायम गरिएको छ ।